Friday, May 22News That Matters

आज थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु

पूर्णपुष्टि, साउन २८

पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालमा उपचाररत थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा चार जना, मोरङ, रुपन्देही र सप्तरीमा एक/एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

त्यस्तै ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत बाराको कलैया घर भएका ७५ वर्षीय पुरुष र टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरुले त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटर नपाएपछि उपचारका लागि किस्टमा ल्याएपछि उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।

त्यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षीय दुई पुरुषको उपचारको क्रममा मङ्गलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु भएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको र २५ वर्षीय युवकको परीक्षण रिपोर्ट आउँन बाँकी रहेको जनाईएको छ ।

त्यस्तै सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बूढीगङ्गा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ छातापुर घर भइ राजविराज नगरपालिका–६ मा बस्दै आएका ८० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उनकोको मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ ।