
पूर्णपुष्टि,असार ४ । सरकारमा रहेको ३ दलसहित ४ दलिय समाजवादी मोर्चा घोषण आज हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसको बैठकले राष्ट्रिय समाजवादी मोर्चा गठन गर्ने सहमति भएको हो । आज राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम रहेको छ ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मोर्चामा आबद्ध छ । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । मोर्चा गठनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधव नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच छलफल भइरहेको थियो र मोर्चा गठनको लागि माओवादीका प्रवक्ता कृष्णबहादुर महरा, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपा एसका नेता राजेन्द्र पाण्डेले जिम्मेवारी पाएका छन् ।
मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाको भनाइ छ । यसले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत खेल्न सक्ने उनले बताए ।
