Wednesday, June 17News That Matters

आज सुरक्षित इन्टरनेट दिवस

पूर्णपुष्टि,माघ २३ । आज सन् २०२३ को ७ फेब्रुअरीमा सुरक्षित इन्टरनेट दिवसको २० औँ संस्करण मनाइँदै छ । अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ ।

बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्ने उद्देश्यले नेपालमा सन् २०१९ देखि सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको हो । नेपालमा यो वर्ष सुरक्षित इन्टरनेट दिवस मनाउन राष्ट्रिय समन्वय समितिसमेत गठन गरिएको छ । बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन तथा साझेदार संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै आएको छ ।

सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन बालबालिकाकोे लागि काम गर्ने संघसंस्थाले अपिल भिडियो, पोडकास्ट, युट्युब, भ्लग, सोसल मिडिया पोष्ट, डिजिटल पोस्टर र बालमैत्री सञ्चार सामग्री उत्पादन र प्रचार गरी सुरक्षित इन्टरनेट दिवस मनाउने योजना बनाएका छन् । यसकासाथै साइबर सुरक्षाबारे प्रशिक्षण, प्यानल छलफलहरू पनि सञ्चालन हुने भएका छन् ।

बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ ।