
पूर्णपुष्टि,माघ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ४२ दिनमै सरकारबाट बाहिरिएपछि सरकारमा फर्काउन सत्तारुढ अरु दलहरुले तयारी गरेको छ । सत्तारुढ मुख्य दलहरु एमाले, माओवादी र राप्रपाका नेताहरुले रास्वपालाई फेरि सरकारमै फर्काउने गरी अनौपचारिक छलफल भइरहेको हो ।
आइतवार संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सत्तारुढ गठबन्धन जोगाउन प्रयास भइरहेको बताउनुभएको थियो । गृह मन्त्रालयको विवादले सरकार गठनको ४२ दिनमा हिजो रास्वपा सरकारबाट बाहिरिएको हो ।
सरकारबाट रास्वपा बाहिरिएपछि रिक्त रहेको मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने र आफैँले जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको योजना छ । माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट दुई मन्त्री र एक राज्य मन्त्री थपिएका थिए । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछानेको पद नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाले खारेज भएको थियो ।
