Monday, May 4News That Matters

आमालाई गाली गरेको झोकमा भाईले गरे दाईको हत्या

पूर्णपुष्टि, जेष्ठ ३० । काठमाण्डौँमा दाईको हत्या गर्ने भाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२३ ओमबहाल माथेमा चोकका २५ वर्षीय सुरज शाक्य रहेका छन् ।

घरायसी विवादका कारण सोमबार राति १२ बजे सुरजले ४५ वर्षीय दाई सूर्य शाक्यको हतौडा प्रहारबाट हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । आमालाई दाइले गाली गरेको झोंकमा भाइले हतौडा प्रहार गरी हत्या गरेको एसपी रिजालले बताए।

‘दाजुभाइबीच पहिला पनि पटक पटक झगडा हुने गरेको र हिजो बुढी आमालाई गाली गरेपछि झोंकमा उनले हतौडाले हानेको एसपी रिजालले बताए । घटनाको खबर प्राप्त भएपछि प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो । दाईको हत्यापछि फरार भएका सुरजलाई प्रहरीले काठमाडौं–२५ सिगलबाट मंगलबार बिहान पौने ९ बजे पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।