
पूर्णपुष्टि, माघ २२ । सिलिगुढीको सुकनामा आयोजना हुने भनिएको माइ टाइप फेस्टिभल अन्तर्गतको कन्सर्ट आयोजक नै सम्पर्कविहीन भएपछि रद्द भएको छ । फेब्रुअरी २ मा हुने भनिएको कार्यक्रममा प्रस्तुति दिन पुगेका फारो ब्याण्डका सविन राई र गायक स्वप्निल शर्मा लगायतका कलाकारहरूले बिना प्रस्तुति नै नेपाल फर्किनु परेको छ ।
फारो ब्याण्डले सार्वजनिक गरेको भिडियोमा सविन राईले आयोजक समूहले अन्तिम समयसम्म पनि सम्पर्क नगरेको र कुनै तयारी नगरेको बताएका छन् । ‘आयोजकले जानीजानी यस्तो गरेको हो वा होइन थाहा भएन, तर अन्तिम समयसम्म पनि उनीहरूले अनुहार नदेखाएपछि अगाडि बढ्न सकिएन,’ राईले भिडियोमा भनेका छन् ।
यसैगरी गायक स्वप्निल शर्माले पनि आयोजक समूहको अव्यवसायिक व्यवहारले कलाकार र दर्शक दुवैलाई समस्यामा पारेको बताएका छन् । उनले भविष्यमा यस्ता घटनाले विश्वासको संकट पैदा हुनसक्ने चिन्ता व्यक्त गरेका छन् । कार्यक्रम रद्द भएको बारेमा आयोजक माइ टाइप फेस्टिभलले कुनै औपचारिक वक्तव्य जारी गरेको छैन ।