Thursday, June 11News That Matters

आरुबारीस्थित पानीपोखरीअघिको सडकमा पानी जम्दा आवागमनमा कठिनाइ

काठमाण्डौँ, बैशाख २६

मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानी पोखरीअघिको सडकको खाल्डो नपुर्दा केही दिनदेखि दैनिक भइरहेको वर्षाका कारण सडकमा पानी जमेर सवारी साधन र यात्रु आवतजावतमा समस्या भएको हो । बौद्ध र जोरपाटीबाट आरुबारी हुँदै गोकर्ण, सुन्दरीजल, कपनलगायत स्थान जाने यो सडकमा आवतजावत गर्न समस्या भएको यात्रु रमिता लामाले गुनासो गर्नुभयो ।

सडकमा बनेको गहिरो खाडलमा पानी जमेका कारण स्कुटर तार्न समस्या भएको उहाँले सुनाउनुभयो । सडकमा जमेको पानी जाने निकास पनि नभएकाले यात्रु र सवारी साधान समस्यामा पर्ने गरेका छन् । राष्ट्रिय गौरवको आयोजना भए पनि काम गर्दा ध्यान नदिँदा समस्या भएको स्थानीयवासीको गुनासोे थियो । स्थानीयवासी पासाङ शेर्पाले वर्षाको पानी जमेको वा पानी पोखरीमै चुहावट भएको भन्न नसकिने बताउनुभयो ।

ठूलो पानी पोखरी भएको स्थानमा निर्देशनालयका कोही कर्मचारीसमेत नभेटिँदा के भएको हो भन्ने अन्योल र त्रासमा बस्नुपरेको उहाँको भनाइ थियो । निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले पानीपोखरीको चुहावट नभएको बताउनुभयो । पानीपोखरी निर्माण भएपछि त्यसअघिको सडक कालोपत्र गर्न बाँकी रहेकाले पानी जमेको हुनसक्ने उहाँको ठम्याइ थियो । पोखरीमा वैशाख पहिलो सातादेखि पानी आउन थालेको थियो । सुन्दरीजलमा प्रशोधन भएको मेलम्चीको पानी काठमाडौँ उपत्यकाका १० वटा पानी पोखरीमार्फत् ग्राहकको धारामा वितरण गरिन्छ । (रासस)