
पूर्णपुष्टि, जेठ ७ । इरानका राष्ट्रपती सहित विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । राष्ट्रपती इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको आइतबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
रोयटर्सको अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको थियो । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनिहरुको अवस्था अज्ञात थियो । उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए । दुर्घटना स्थलको मौसम निकै खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो ।
राष्ट्रपति रायसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न अजरबैजान गएका थिए । बाँध उद्घाटन लगत्तै उनी तबरिज सहरतर्फ लागेका थिए । इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी तबरिज जानेक्रममा हेलिकप्टर बाटैमा दुर्घटनाग्रस्त भएको थियो । बाक्लो कुहिरोका कारण भिजिबिलिटी कमजोर हुँदा उद्धार प्रभावित भएको थियो ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियान, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दलका सदस्य सवार रहेका थिए ।