
पूर्णपुष्टि, बैशाख १० । इलाम र बझाङमा हुने उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाईने भएको छ । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागी खटिने कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।
प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी प्रबन्ध मिलाईने आयोगले जनाएको छ । उपनिर्वाचनमा इलाम–२ मा १४९ वटा तोकिएको मतदान केन्द्रमा १ हजार ४३ र बझाङमा ९३ वटा तोकिएको मतदान केन्द्रमा ६ सय ५१ गरी कुल १,६९४ जना कर्मचारी परिचालन गरिने आयोगले जनाएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने छन् । उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
