Tuesday, June 9News That Matters

उत्तराखण्डमा एक दिनको लागि १९ वर्षीया युवती बनिन् मुख्यमन्त्री

पूर्णपष्टि,माघ ११

२४ जनवरीका दिन आज राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्डको १९ वर्षीया युवतीलाई  मुख्यमन्त्री बनाइएको छ । भारतको हरिद्वार जिल्ला दौलतपुरकी १९ वर्षीया सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनका लागि मुख्यमन्त्री बनाएको हो ।

आफूलाई एक दिने मुख्यमन्त्री बनाइएकोप्रति खुसी व्यक्त गर्दै सृष्टीले विशेषगरी बालिकाको सुरक्षासँग जोडिएका विषयप्रति केन्द्रीत भएर उत्तरखण्ड सरकारका अलग अलग विभागसँग छलफल गरिने बताएकी छिन् । यस अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ र आफूले त्यस विषयमा सुझाव दिने कार्यक्रम रहेको सृष्टिले बताइन् ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनुभएको छ । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा आयोजित यस कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने छ ।

उत्तराखण्ड बालअधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले सरकारले महिला सशक्तीकरणप्रति जाकरुकता फैलाउने उदेश्यले सृष्टिलाई मुख्यन्त्री बनाएको बताउनु भएको छ ।

रुड्कीमा रहेको बीएसएम पीजी कलेजमा बीएस्सी एग्रीकल्चर पढिरहेकी सृष्टि एक दिनका लागि मुख्यमन्त्री बनेको खबर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।