
पूर्णपुष्टि, १८ साउन ।
उदयपुरका तिन बेवारिसे लालिकाहरुलाई बिभिन्न संघ संस्थाहरुको सहयोगमा आफन्तको जिम्मा लगाईएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका २ बर्रेकी १२ बर्षिया सरस्वती खड्का, ११ बर्षिया बालकुमारी खड्का र १३ बर्षिया गोमा मगरलाई आफन्तको जिम्मा लगाईएको हो । उनिहरुलाई शुक्रबार सुभारम्भ समाज नेपालले आफन्तलाई बुझाएको हो । उक्त संस्थाकी अध्यक्ष फुलमाया थापा मगर (सविता) का अनुसार सरस्वती र बालकुमारीको बाबा आमा बेपत्ता अवस्थामा छ । आमा पोईला गएकी र बाउले पनि अर्को बिवाह गरेपछि उनिहरु सम्पर्कविहिन अवस्थामा रहेको छ । बाउ आमानै सम्पर्क बिहिन भएपछि ति वालिकाहरु सडकछाप अवस्थामा पुगिन ।

ति बालिकाहरु ७ बर्षदेखी काठमाण्डौँ बस्दै आएको बुझिएको छ । आमा बाबाको साहाराबाट बन्चित बालिकाहरुलाई काठमाण्डौँ स्थित माईती नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा पठाईएको थियो । प्रहरीले फेरी बाल हेल्पलाईन १०९८ चितवन नारायणगढको उज्यालो नेपालमा पठायो भने, फेरी उज्यालो नेपालले सुभारम्भ समाज नेपाल उदयपुरलाई पठाएको थियो ।
यी संघ संस्था र प्रहरीको पहलमा उदयपुर आईपुगेकी बालिकाहरुलाई सुभारम्भ समाज नेपालले परिवार सम्म बुझाउन सफल भएको हो । अध्यक्ष थापाले सरस्वती र बालकुमारी सँगै छामा पर्ने १३ बर्षिया गोमा मगर पनि बेवारिसे अवस्थामा पुगेको जनाईन् । काठमाण्डौँमै बस्दै आएको सरस्वती र बालकुमारीकी बुबा खड्ग बहादुर खड्का र आमा शर्मिला खड्काले गोमालाई पनि काठमाण्डौँ लगेका थिए । तर उनिहरु बिहेगरी बेपत्ता भएपछि तिनै जना बालिकाहरु भने बेवारिसे बन्न पुगे । गोमालाई परिवारकै जिम्मा लगाईएको छ भने सरस्वती र बालकुमारीलाई आफन्तको जिम्मा लगाईएको छ । उनिहरुलाई काका रामजी खड्का, मावली पटीको हजुर बुबा चित्र बहादुर मगर र हजुर आमा रेखा मगरलाई जिम्मा लगाईएको छ । यता गोमालाई आफ्नै आमाको साथमा जिम्मा लगाईएको हो ।

