Sunday, March 16News That Matters

उदयपुरका युवा सहित तीन जना लागूऔषध सहित पक्राउ

पूर्णपुष्टि, फागुन ५ । मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ मा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा स्थानीय २० वर्षीय मनिष राईको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल ९६ क्याप्सुल, स्पास्टिन २३८ क्याप्सुल र नाईट्रेजेपाम ४ ट्याब्लेटसहित पक्राउ गरेको छ ।

त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको टोलीले धरान उप–महानगरपालिका–१६ का २० वर्षीय निशान तामाङलाई ट्रामाडोल १८२ क्याप्सुल र स्पास्पेन १८२ चक्कीसहित नियन्त्रणमा लिएको छ । यसैबीच उदयपुरको त्रियुगा नगरपालिका–३ मा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको टोलीले स्थानीय २७ वर्षीय दिपेश चौधरीलाई ५७ एम्पुल लागूऔषधसहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ताका अनुसार पक्राउ परेका तीनै जनामाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ । प्रहरीले लागूऔषध कारोबार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ ।