Saturday, May 17News That Matters

उदयपुरका शेर्पाले जिते साईकल दौडको उपाधि

पूर्णपुष्टि, चैत्र २४ । विराटनगरमा सम्पन्न छैठौं संस्करणको साइक्लोथन सिक्स प्वाइन्ट प्रतियोगिताको उपाधि उदयपुरका १८ वर्षीय निमा शेर्पाले जितेका छन् । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा भएको प्रतियोगितामा जिल्लाको त्रियुगा नगरपालिका–१० का शेर्पाले ३०० भन्दा बढी प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रथम स्थान हासिल गरे ।

शेर्पाले मात्र २५ मिनेटमा १४ किलोमिटरको दूरी पार गरी प्रभावशाली प्रदर्शन गरेका थिए । प्रतियोगितामा धरान–११ का १७ वर्षीय दिपसागर तामाङ दोस्रो र त्रियुगा–१० कै १४ वर्षीय कुशान शेर्पा तेस्रो स्थानमा रहे ।

स्थानीय आदर्श माध्यमिक विद्यालय प्राङ्गणबाट सुरु भएको यस प्रतियोगिता अघि द गोल्ड जिमका प्रतिनिधिहरूले सहभागीहरूलाई वार्मअप गराएका थिए । प्रतियोगिताको औपचारिक सुरुवात शहीद रंगशाला सामुन्नेको सडकबाट भएको थियो, जहाँ पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया, मिस्टर नेपाल सन्तोष लक्सुम लिम्बू र मिस नेपाल आश्मा केसीले झण्डा देखाएर दौडको शुभारम्भ गरेका थिए ।

सहभागीहरूले गोल्छाचोक, तीनपैनी, पुष्पलालचोक हुँदै विराटनगर–१९ को मिलनचोकसम्मको रुट पार गरेका थिए । मिलनचोकमा पुगेपछि आयोजकले दिएको ह्याण्ड ब्याण्ड लिएर प्रतिस्पर्धीहरू फर्किएका थिए । रोटरी क्लब अफ विराटनगर फ्युजनका अध्यक्ष विवेककुमार अग्रवालका अनुसार स्वास्थ्य प्रवर्द्धन, सामुदायिक भावनाको विकास र संस्थाको कोष वृद्धिको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. १५, १० र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । यसका अतिरिक्त, सहभागीहरूमध्ये लक्की ड्रमार्फत छानिएका २५ जनालाई जनही रु. ५ हजार नगद पुरस्कार पनि वितरण गरिएको थियो ।