Friday, June 19News That Matters

उदयपुरका ८ उत्कृष्ठ स्वास्थ्य स्वयम्सेविका सम्मानित

पूर्णपुष्टि, असार २४ गते ।
स्वयम् सेवाको भावले स्वस्थ्य क्षेत्रमा योगदान दिदै आएका उदयपुरको हरेक स्थानीय तहको एक उत्कृष्ठ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका आज (सुक्रबार) सम्मानित भएका छन् ।
चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तहका उत्कृष्ठ स्वयम्सेविकाहरु सम्मानित भएका हुन् । त्रियुगा नगरपालिकाकी सीता पोखरेल, कटारी नगरपालिकाकी कमला तामाङ, चौदण्डीगढी नगरपालिकाकी जयन्ती थापा, बेलका नगरपालिकाकी यशोखा खत्री सम्मानित भएका हुन् । त्यस्तै उदयपुरगढी गाउँपालिकाकी लक्ष्मी रेग्मी, लिम्चुङबुङ गाउँपालिकाकी सत्यकला राई, ताप्ली गाउँपालिकाकी गंगाकुमारी खड्का र रौतामाई गाउँपालिकाकी गीता के.सी सम्मानित भएका हुन् ।
त्यसैगरी स्वयम् सेवासंगै स्वयम्सेवीहरुको हकहितमा लड्दै आएकी टोटला दाहाललाई पनि सम्मान गरिएको थियो ।
सम्मानित स्वयम्सेवीहरुलाई जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादव, बरिष्ठ जनस्वास्थ्य प्रमुख बृजकुमार दास लगायतले सम्मान गरेका थिए । उनीहरुलाई प्रदेश सरकारको सम्मान कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय उदयपुरले एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
कदरपत्रसहित दोसल्ला, खादा, माला लगाएर सम्मान गरिएका उनीहरुलाई १२ हजार नगदलेसमेत पुरस्कृत गरिएको थियो ।