
पूर्णपुष्टि, जेष्ठ १५
पछिल्लो १२ घण्टाको अबधिमा मोरङमा ११ संक्रमितले ज्यान गुमाएको छ । मोरङको नोवेल शिक्षण अस्पताल, कोशी अस्पताल कोभिड उपचार केन्द्र, कोशी हस्पिटल कोभिड उपचार युनिट र बिराट शिक्षण अस्पतालमा १० जना संक्रमितहरुको ज्यान गएको हो । मृत्यु हुनेमा ७ पुरुष र ४ महिला रहेको छ ।
यस मध्ये एक महिला उदयपुरको रहेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको उपचारकै क्रममा विराटमा शिक्षण हस्पिटलमा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले जानकारी दिए । जेठ ७ गते भर्ना गरिएकी महिलाको राति ९ बजेतिर मृत्यु भएको देवले जानकारी दिए । यता १ संक्रमितको भने होम आईसोलेसनमै ज्यान गएको छ ।
उपचारको क्रममा नोबेलमा ४ जना, कोशीमा २ जना, बिराट शिक्षण हस्पिटलमा २ जना र कोशी अस्पताल कोभिड उपचार युनिटमा २ जनाको ज्यान गएको हो ।
नोबेलमा सुनसरीको दुहवी नगरपालिका–३ का २२ वर्षीय युवकको शनिबार बिहान ६ः४५ बजेतिर मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार युवकलाई उपचारका लागि जेठ ७ गते अस्पताल भर्ना गरिएको थियो । सुनसरीको इटहरी उमपहानगरपालिका–२० की ३९ वर्षीया महिलाको बिहान ६ बजेतिर नोबेलमै मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ ११ गते भर्ना गरिएको थियो ।
दाहालका अनुसार सिरहाको धनगढी नगरपालिका–१० का ७० वर्षीय वृद्ध पुरुषको बिहानका राति १ बजेतिर मृत्यु भएको छ । उनलाई वैशाख २५ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले बताए । उनका अनुसार मोरङको सुनवर्षी नगरपालिका–४ का ५८ वर्षीय पुरुषको राति १२ः३० बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि जेठ १२ गते अस्पताल भर्ना गरिएको जानकारी दाहालले दिए ।
कोसी अस्पताल कोभिड उपचार युनिटमा विराटनगर महानगरपालिका–६ की ४० वर्षीया महिलाको मृत्यु भएको छ । उपचारका लागि शुक्रबार भर्ना गरिएकी महिलाको शनिबार बिहान ९ः१५ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले जानकारी दिए । उनका अनुुसार सिरहाको कल्याणपुर–७ का ५९ वर्षीय पुरुषको शुक्रबार राति ८ः४० बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ १ गते अस्पताल भर्ना गरिएको थियो ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१४ की ५० वर्षीया महिलाको बिहानका राति ३ः४५ बजेतिर ज्यान गएको छ । केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार संक्रमित महिलालाई उपचारका लागि जेठ ६ गते ल्याइएको थियो । सुनसरीको बर्जु गाउँपालिका–२ का ६० वर्षीय पुरुषको पनि बिहान ४ः१५ बजेतिर मृत्यु भएको राजवंशीले बताए । उनका अनुसार जेठ ५ गते उपचारका लागि भर्ना गरिएका पुरुषको ज्यान गएको हो ।
विराट शिक्षण अस्पतालमा मोरङको बूढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको बिहानका राति २ः४५ बजेतिर मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार पुरुषलाई उपचारका लागि जेठ ८ गते भर्ना गरिएको थियो । मोरङको लेटाङ नगरपालिका–३ का ५२ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा जेठ ९ गते कोरोना पुष्टि भएपछि उनी घरमै आराम गरेर बसिरहेका थिए । एक्कासि स्वास्थ्यमा समस्या देखिएका पुरुषको शुक्रबारराति ९ः३० बजेतिर मृत्यु भएको जानकारी नगरपालिकाले दिएको छ ।
