Saturday, May 17News That Matters

उदयपुरको त्रियुगा नदीमा निर्माणाधीन देवधार पुलमा बजेट अभाव

पूर्णपुष्टि, फागुन २१ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा निर्माणाधीन मोटरेवल पुलको काम बजेट अभावका कारण ढिलो भइरहेको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ र १० का हडिया क्षेत्रका स्थानीयवासीलाई बर्षाको समयमा ठूलो यातायात समस्या भइरहेको छ ।

मदनभण्डारी राजमार्गसँग हडियालाई जोड्ने हडिया–देवधार स्थित त्रियुगा नदीमा निर्माणाधीन मोटरेवल पुल २०७९ सालमा सुर्य एण्ड सन्स प्रा.लि. धरानसँग भ्याट सहित ४० करोड ३४ लाख ८८ हजार ८ सय रुपैयाँमा डिजाइन एन्ड बिल्ड प्रविधिमा पुल निर्माण सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०८३ साल जेष्ठ महिनासम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

पुल ६ पिलर सहित ५ स्पानको हुनेछ । हालसम्म पुल निर्माणको केवल ३५ प्रतिशत मात्र सम्पन्न भएको पुल सेक्टर धरानका डि.इ. दीपक झाले जानकारी दिए ।

निर्माण कम्पनीले अहिलेसम्म ७ करोड ७० लाखको बिल पेश गरे पनि केवल ३ करोड ७१ लाख मात्र प्राप्त गरेका छन् । कम्पनीका संचालक उमेश श्रेष्ठले भने, ‘अर्को ५ करोडको बिल पेश हुँदैछ र पुरानो भुक्तानी बाँकी रहेको अवस्थामा निर्माण कार्य निरन्तर राख्न गाह्रो भइरहेको छ ।’

चौदण्डीगढी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष धर्म राज खड्काले बर्षाको समयमा स्थानीयवासीलाई ठूलो समस्या भइरहेको बताए । उनले भने, ‘बर्षाको समयमा हडियाका स्थानीयलाई आफ्नै पालिकाको केन्द्र बेल्टार जान समेत मधेश प्रदेशको सप्तरी हुँदै जानु पर्ने बाध्यता छ ।’

डि.इ. दीपक झाले पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयमा पहल गरिरहेको जानकारी दिए । निर्माण कम्पनीले भने समयमा भुक्तानी प्राप्त भए निर्धारित समयभन्दा अगावै पुल निर्माण सम्पन्न गर्न सक्ने दावी गरेको छ ।