
पूर्णपुष्टि, पुष २६ । उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटीस्थित बुर्जाकान्ला–पात्लेबास–लालपत्ता–धनचक्रे सडक निर्माणको काम अलपत्र परेको छ । १८ करोड ७५ लाख लागतको २० किलोमिटर सडक निर्माणको जिम्मा पाएको एससिएफ–बिएनएस जेभी लहानले तीन पटक म्याद थप गर्दा समेत काम सम्पन्न गर्न सकेको छैन ।
जिल्ला पूर्वाधार कार्यालय उदयपुरका प्रमुख इन्जिनियर ललित चौधरीका अनुसार २०७९ असोज १ मा सम्झौता भएको उक्त सडक २०८० भदौ ३१ गतेसम्म सक्नुपर्ने थियो । तर निर्माण कम्पनीले हालसम्म ९ किलोमिटर सडक मात्र ग्राभेल गरेको छ । ‘राम्रो र सजिलो काम गरेर झन्डै ९ करोड रुपैयाँ भुक्तानी लिएपछि ठेकेदार सम्पर्कविहीन भएका छन्,’ प्रमुख चौधरीले भने, ‘पटक–पटक फोन गर्दा समेत नउठाएपछि अब अन्तिम पटक ५ दिने पत्र काटेर बोलाएका छौं ।’ कार्यालयले २०८२ असार मसान्तसम्मको अन्तिम म्याद थप गरेको छ । तोकिएको समयमा काम सम्पन्न नभए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
यसैबीच, ठेकेदारले काम छोडेर भागेको उजुरी आएपछि जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्मा नेतृत्वको टोलीले दुई दिनअघि स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा निर्माणस्थलमा साइट इन्चार्जसमेत नभेटिएको र भएको काम पनि सन्तोषजनक नरहेको विश्वकर्माले बताए । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा निर्माण भइरहेको यस सडकमा हालसम्म निर्माण व्यवसायीले ४५ प्रतिशत रकम भुक्तानी पाइसकेको कार्यालयले जनाएको छ ।