
पूर्णपुष्टि, माघ २७ । बेलका नगरपालिकामा सञ्चालित निःशुल्क महिला स्वास्थ्य शिविरमा पाठेघर परीक्षण गराएका ११८ महिलामध्ये ११ जना पाठेघर क्यान्सरको उच्च जोखिममा रहेको पाइएको छ । महिला साना किसान कृषि सहकारी संस्था तपेश्वरीद्वारा आयोजित शिविरमा कुल ३०५ महिलाले स्वास्थ्य परीक्षण गराएका थिए ।
स्त्री रोग विशेषज्ञ डा. विद्या पोखरेल र जनरल सर्जन डा. प्रविण कुमार यादवले गरेको परीक्षणमा ४२ जना महिलाको पाठेघरको अवस्था अस्वस्थ देखिएको छ । उच्च जोखिममा रहेका ११ जना महिलालाई थप उपचारका लागि परामर्श दिइएको छ । यसैगरी ५ जना महिलालाई आङ खस्ने समस्याका लागि रिङ पेसरी लगाइएको छ ।
कार्यक्रम संयोजक राजीव बस्नेतका अनुसार ग्रामीण क्षेत्रका महिलाहरूमा हुने पाठेघर सम्बन्धी तथा गुप्त रोगहरूको पहिचान र उपचार गर्नु शिविरको मुख्य उद्देश्य रहेको थियो । शिविरमा ४५ जनाले निःशुल्क प्रयोगशाला परीक्षण र १४२ जनाले निःशुल्क औषधि सेवा प्राप्त गरेका छन् । बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले स्थानीय स्तरमै महिला स्वास्थ्य सेवाको पहुँच पुर्याएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई नगरपालिकाले पनि प्राथमिकतामा राख्ने बताइन् ।