Tuesday, April 21News That Matters

उदयपुरको बेलकामा सप्तकोसी नदी बस्ती पस्ता विस्तापित भएकामा भाइरल ज्वरो

पूर्णपुष्टि, साउन २६ गते ।
उदयपुरको बेलका नगरपालिकामा एक साताअघि सप्तकोसी नदीको धार परिवर्तनबाट बाढी बस्ती पस्ता विस्तापित भएका सर्वसाधारणमा भाइरल ज्वरो देखिन थालेको छ । कोसीबाट विस्थापनपछि स्थानीय सरकारले व्यवस्थापन गरेको शिविरमा बस्दै आएका बेलका–२, ३, ८ र ९ का मानिसमा भाइरल ज्वरोको प्रकोप फैलिएको हो ।
अस्वस्थ खाना, धमिलो पानी, फोहोरबाट प्रदूषण फैलिदा बिरामी पर्ने गरेको बेलका नगर अस्पतालका मेडिकल सुपरिटेन्डेड विशाल राईले बताए । उनकाअनुसार बिरामी हुनेमा बालबालिका र वृद्धावृद्ध बढी छन् । उनीहरुको शिविरमै पुगेर औषधि उपचार गरिएको डाक्टर राईले बताए ।
त्यसबाहेक दैनिक दुई दर्जनभन्दा बढी बिरामी अस्पतालमा उपचारपछि फर्कने गरेका छन् । नगरपालिकाले व्यवस्था गरेको खसीबाख्रा संकलन केन्द्र कान्तेचौरी शिविरमा मात्रै ४ बालिकासहित १३ बालबालिका, १२ महिला र एक पुरुषलाई उच्च ज्वरो, रुघाखोकी, झाडापखाला र वाकवाकी आउने र वान्त हुने समस्या रहेको स्थानीय बताउँछन् ।
डा. राईले भने, ’अधिकांश बिरामी भीडभाड र अस्वस्थ खानाकै कारण बिरामी भएको देखिन्छ । सर्वसाधारणमा उच्च ज्वरो, झाडापखाला र वान्ता हुने समस्या देखा परेको उनले बताए । बाढीपीडित मनिषा माझी भन्छिन्,’ ‘सरकारले दिएको राहत दाल, आलु, मसौरा गुणस्तर नभएकैकारण बिरामी भएका हुन् ।’
एकै पटक ठूलो संख्यामा विस्थापित रहेको र पीउने पानीको समेत समस्या हुँदा संक्रमण देखिएको डाक्टर राईको भनाई छ । स्थानीयले विस्थापितलाई हेर्न उच्च ओहोदाका व्यक्ति आएपनि दिगो समाधानका लागि कसैले चासो नदिएको बताएका छन् ।
नेताहरुले आश्वसन मात्र बाँडेको उनीहरुको गुनासो छ । साउन १८ गते बेलका नगरपालिका–८ डुम्रिबोटेबाट कोसीले धार परिवर्तन गरेपछि स्थानीय नगरपालिकाले व्यवस्था गरेको शिविरमा बस्दै आएका छन् । कोसी पसेपछि बेलका नगरपालिकाको भाटेपुल, सिसौली चौरी, एकता, चिलिया, दुर्गमन्दिर, एबीसी टप्पु बाढीको जोखिममा परेका छन् ।

बाढी बस्ती छिरेपछि अहिलेसम्म १ सय ९ परिवारको १ हजार ५१ जना विस्थापित भएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए । विस्थापितलाई कोसी जनता मावि, आधारभूत विद्यालय सातपत्रे, खसीबाख्रा संकलन केन्द्र कान्तेचौरी, बानडाँडाको रेडक्रस भवनको शिविरमा राखिएको छ ।

कोसी गाउँ पसेर २ हजार ५ सय परिवार विस्थापित भएको नगर प्रमुख अशोक कार्कीले बताए । विस्थापितहरु नदीमा पानीको वहाव घटेसँगै केहि फर्किएको उनको भनाई छ ।