Friday, February 7News That Matters

हडिया–ज्यामिरे जोड्ने झोलुङ्गे पुल निर्माणका लागी ५ करोड ९१ लाख बजेट विनियोजन

पूर्णपुष्टि, माघ १३ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा महत्वपूर्ण पूर्वाधार विकासको योजना अघि बढेको छ । नगरपालिकाको लगातारको पहलमा संघीय सरकारले हडिया र ज्यामिरे क्षेत्रलाई जोड्ने त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माणका लागि ५ करोड ९१ लाख ५० हजार रुपैयाँको बजेट सुनिश्चित गरेको छ ।

नगर प्रमुख कालुमान लामाका अनुसार पुल स्थानीय जनताको दीर्घकालीन यातायात समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने छ । गत वर्षदेखि नै यस योजनामा लगातार प्रयास जारी रहेको थियो । शुरुमा कोशी प्रदेश सरकारले डिपिआर तयार गरेको भए पनि कार्यान्वयन हुन नसकेपछि संघीय सरकारले यसलाई अगाडि बढाएको हो ।

प्राविधिक विवरणअनुसार पुलको कुल लम्बाई २७८.२ मिटर हुनेछ र यसमा एकतर्फी रूपमा टेम्पो सञ्चालन गर्न सकिने छ। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीका प्राविधिक टोलीले पहिले तयार भएको डिपिआर अनुसार नै पुल निर्माण गर्ने योजना बनाएको छ । नगरपालिकाले थप एक महत्वपूर्ण निर्णय गर्दै नदीको दुवै किनारमा आवश्यक तटबन्ध व्यवस्थापन आफ्नै बजेटबाट गर्ने भएको छ । नगर प्रमुख लामाले यस पुलले वारिपारिको दीर्घकालीन समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।