
पूर्णपुष्टि/उदयपुर, पुस २३ ।
श्री पशुपती प्रसाद गणको संयोजकत्वमा स्थानीय पालिकाहरु त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका र उदयपुरगढी गाउँपालिकाको संयुक्त आयोजनामा आजबाट उदयपरगढी–चौदण्डीगढी पदयात्रा सुरु भएको छ । पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापती उपरथी गौरवकुमार केसीले पदयात्राको उद्घाटन गर्नुभयो ।
इतिहासमा पुर्वजहरुको त्याग, शाहस र बलिदानीको उच्च कदर गर्दै ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ऐतिहासिक कोट, गढी, युद्धस्थल, किल्ला र पदमार्गहरुको पहचिान तथा संरक्षण गर्ने उद्देश्यले पदयात्राको आयोजना भएको हो । साथै युवा पुस्तामा देशभक्तिको भावना जागृत गराउन, जिल्लाको पर्या–पर्याटन विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्य समेतले कार्यक्रमको आयोजना भएको गणपती मनोज कार्कीले जानकारी दिनुभयो ।
पदयात्रा शुभारम्भ समारोहमा पालिकाहरुका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, श्री नं. १८ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी विमलकुमार बस्नेत, सुरक्षा निकायका प्रमुखहरु, हाटल तथा पर्यटन ब्यवसायी, साइक्लिष्टहरु, संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी र स्थानीइहरुको उल्लेख्य उपस्थिति थियो ।
पदयात्रा आजबाट सुरु भई आगामी २७ गतेसम्ममा करिब ८५ किलोमिटर दुरी पारगरी चौदण्डीगढीमा पुगेर टुंगिनेछ । त्यहाँ विशेष समापन समारोह आयोजना हुनेछ । पदयात्रा अवधिभर पालिकाहरु र स्थानीयले साथ दिनेछन् । बीचबीचमा विद्यालय स्तरीय कविता वाचन, बक्तृत्वकला कार्यक्रमसमेत रहने जनाइएको छ ।
पदयात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय, जनप्रतिनिधिहरुले नेपालको झण्डासहित आ आफ्नाे संस्थाको झण्डा साथमा बोकेर हिडेका छन् ।


तस्विर साैजन्य : श्री पशुपती प्रसाद गण, बाेक्से
