
पूर्णपुष्टि, चैत्र २४ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १५ गुरुधाम स्थित महाबिर कटुवालको २ तले घर आगलागीबाट जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार बिहान अन्दाजी २ बजे घर र घरसँगै रहेको कुखुरा फार्ममा लागेको आगो बिहान ४ बजे नियन्त्रणमा आएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगीका अनुसार आगलागीबाट कटुवालको दुई तले घर (एक तला पक्की र माथिल्लो तला काठले बनेको टिनको छानो भएको) पूर्णरूपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको नगद ६ लाख रुपैयाँ, ५ तोला सुन, ५ तोला चाँदी, फर्निचर, काठपात, अन्नपात, भाँडाकुँडा र लत्ताकपडा जलेर जलेर नष्ट भएको छ ।
साथै, कुखुरा फार्ममा रहेका अन्दाजी ५५० वटा कुखुरा पनि आगलागीमा परी मरेका छन् । प्रहरीका अनुसार यस आगलागीबाट कुल अन्दाजी ९९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीको कारण अझै खुल्न सकेको छैन । प्रहरीले आगलागीमा कुनै मानवीय वा अन्य चौपायाको क्षति नभएको जनाएको छ ।