
पूर्णपुष्टि, भदौ २६ । उदयपुरमा आज बिहिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले शान्ति सुरक्षा कायम राख्न यो आदेश जारी गर्नुभएको हो ।
स्थानीय प्रशासन ऐन संशोधनसहित २०२८ को दफा ६ (३) क बमोजिम जारी निषेधज्ञाको आदेशमा निषेधज्ञा भएको क्षेत्र र समयमा ५ जनाभन्दा बढी मानिसहरू एकठाउँमा भेला हुन नपाउने भनिएको छ । जिल्लाका विभिन्न स्थानहरूमा हुनसक्ने प्रदर्शन, जुलुस र हुलदङ्गाजस्ता गतिविधिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने र शान्ति सुरक्षामा खलल पुग्नसक्ने परिस्थितिलाई दृष्टिगत गरी निषेधज्ञा जारी गरिएको छ ।
निषेधज्ञाको अवधिभर यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गराउने कार्यमा अवरोध गर्ने जुनसुकै व्यक्तिलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । उदयपुरमा बुधबार बेलुका ५ बजेदेखि बिहिबार बिहान ६ बजेसम्म कर्फ्यू जारी गरिएको थियो । कर्फ्यू सकिएसँगै आज दिनभर निषेधज्ञा लागू गरिएको हो । स्थानीय प्रशासनले नागरिकहरूलाई निषेधज्ञाको पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न अपील गरेको छ ।
