पूर्णपुष्टि/उदयपुर, चैत्र ३ गते
-इमो कलबाट ठगीको घटनाले उदयपुरमा सनसनी फैलाएको छ । इमो कलबाट २५ लाख रुपैयाको चिट्ठा पर्यो भन्दै ठगी गर्ने एक व्यक्तिलाई नवलपरासी प्रहरीले गत २८ गते पक्राउ गरेको खबरपछि सनसनी फैलिएको हो ।
इमो कलबाट चिठ्ठा पर्यो भन्दै ४५ हजार ठगीमा परेका जिल्लाको चौदण्डीगढी नगरपालिका–१० स्थायी घर भई हाल त्रियुगा नगरपालिका ५ देउरीमा रहेका रामसेवक चौधरी, पैसा माग गर्ने व्यक्ति प्रहरीमा पक्राउ पर्यो भन्ने सुनेपछि छाँगाबाट खसेझै भएका थिए भने त्यस्ता म्यासेज प्राप्त गर्ने अन्य सर्बसाधारणहरु झस्किएका छन् । अनगिन्ति इमो आइडीमा त्यस्ता म्यासेज आउने गरेको र टाठाबाटाले के कसो हो भन्दै सोधीखोजी गर्ने र सिधासाधाहरु भने फस्ने गरेका छन् ।
चौधरीबाट पैसा लिने नवलपरासी चुस्ता गाउँपालिका वडा नं. ४ नर्सहीका १९ वर्षिय नन्दन विन २८ गते पक्राउ परेका थिए । फागुन २७ गते एनसेलको नयाँ सिम कार्ड किनेर इमो आइडी खोलेका चौधरीलाई तुरुन्तै २५ लाख रुपैया चिठ्ठा पर्यो भन्ने म्यासेज पाउदा सुरुमा फुरुङ भएका थिए ।
इमो आइडीमा आकाश बर्मा नामक व्यक्तिले दुबईबाट तपाईलाई बधाई छ, तपाईले आजबाट इमो चलाउनु भयो । तपाईलाई २५ लाखको चिट्ठा पर्यो भनेका थिए । तपाई दुवई नै आउनु हुन्छ कि नेपालमा पैसा पठाई दिउँ भनेका थिए । सोझो चौधरीले दुवई नजाने बरु नेपालमै चिट्ठाको पैसा पठाई दिन भनेका थिए ।
चिठ्ठाको रकम नेपाल पठाउन ४५ हजार लाग्ने भन्दै पठाउन भनेपछि चौधरीले पठाईदिएका थिए । चिट्ठाको बारेमा अन्त होहल्ला नगर्नु फेरी तपाईको पैसा कट्टा हुन्छ भन्दै सतर्क गराएको ठगले नेपालका प्रतिनिधि नन्दन विनको नाममा ४५ हजार पैसा पठाउनु अनि तपाईको एकाउन्टमा पैसा पठाउला भन्दै इन्टर नेशनल चेकको फोटो समेत पठाएका थिए ।
एक्कासी चिट्ठा पर्यो भनेर २५ लाख पैसा कसरी प्राप्त गर्ने भन्नेमा मात्र ध्यानकेन्द्रित भएका चौधरीले फागुन २८ गते नवलपरासीका नन्दन विनको नाममा प्रभु मनी ट्रान्सफरमार्फत ४ हजार पाँच सय रुपैया पठाई दिए । तर, त्यति पैसाले नपुग्ने भन्दै ४५ हजार पुर्याऊ भन्दै पुनः पैसा माग भएपछि त्यही दिन पुनः ४० हजार पाँच सय उनैलाई पठाएका थिए ।
पैसा पठाएको प्रभु मनी ट्रान्सफरको केन्द्रिय कार्यालयबाट चौधरीलाई फोनबाट पैसा पठाएको व्यक्ति प्रहरीले समात्यो, तपाई ठगीमा पर्नु भयो भन्ने खबर सुनेपछि छाँगाबाट खसेझै भएका थिए । चौधरीले बिहिबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएका हुन् । \
विगतका दिनहरुमा भारतीयसंग सिमा जोडिएका ग्रामिण बैंकहरुमा अवैध कारोबार हुने गरेको र केही व्यक्तिहरु ठगीमा परेको पटक पटक सूचनाहरु आएको हुँदा यस विषयमा चासो बढाएको र ग्रामिण क्षेत्रका बैंकहरुसंग समन्वय गरेर नौलो मानिस वा शंका लागे व्यक्तिले पैसा निकाल्ने वा जम्मा गर्ने देखिएमा प्रहरीमा खबर गर्नु भनेपछि ठगी गर्ने नन्दन विन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका मुद्दा फाँटका प्रहरी निरिक्षक (इनिस्पेक्टर) टिकाराम पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार नन्दन विनलाई नगद ४५ हजार सहित पक्राउ परेपछि अनुसन्धानमा उनले इमो कलबाट ठगी गर्ने गरेको पत्ता लागेको थियो ।\
‘ठगी गर्ने नन्दन विनले विभिन्न बैंकहरुबाट करिव ६ लाख बराबरको रकम बुझेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इनिस्पेक्टर पोखरेलले बताएका छन् । पोखरेलका अनुसार उदयपुर, विराटनगर, मोरङ लगायतका जिल्लाबाट नन्दन विनको नाममा पैसा पठाएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ । यस विषयमा अनुसन्धान भैरहेको छ भने सम्बन्धित जिल्लालाई पत्रचार समेत गरेको पोखरेलले बताउनुभयो ।\
पीडितले चैत्र १ गते नन्दन विनमाथि ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा चौधरीले किटानी जाहेरी दिइएको छ । ठगी गर्ने नन्दन विनलाई यस कार्यालयमा उपस्थित गराउन भनी जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमलाई पत्रचार गरेको सूचना अधिकारी मानप्रसाद श्रेष्ठले बताउनुभयो ।