
पूणपुष्टि, माघ २३ । उदयपुरमा आजदेखी पाठे घरको मुखको क्यान्सर विरुद्धको एच.पिभि. खोप लगाउन सुरु गरिएको छ । बुधबार त्रियुगा नगरपालिका वडा नं. १० बोक्सेस्थित श्री बालमन्दिर माध्यामिक विद्यालयमा एक औपचारिक कार्यक्रमको बिच त्रियुगाका मेयर बसन्त कुमार बस्नेतले खोप अभियानको उद्घाटन गरेसँगै ह्युमन प्यापुला भाईरस विरुद्धको एच.पिभि. खोप लगाउन सुरु गरिएको हो ।
स्वास्थय कार्यालय उदयपुरको अयोजना तथा जिल्ला समन्वय समितको समन्वयमा बालमन्दिर मा.वि. बाट खोप लगाउन सुरु गरिएको हो । बालमन्दिरमा कक्षा ६ देखि १० सम्मका जम्मा २८५ जना छात्रामा खोप लगाउन सुरु गरिएको हो ।
स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर चिरन्जीवी निरौलाका अनुसार आजदेखी सुरु भएको खोप अभियान पहिलो र दोस्रो चरण गरी फागुन ७ गते सम्म संचालन हुनेछ । पहिलो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालका, लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिकामा २३ गतेदेखी पहिलो चरणको खोप लगाईने भएको छ भने दोस्रो चरणमा कटारी नगरपालिका, चौदण्डीगढी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा लगाईने छ ।
यस खोपबाट जिल्लामा कक्षा ६ देखी कक्षा १० सम्म अध्यानरत रहेकी २० हजार १ सय २२ जना छाञाहरु लाभान्वीत हुने छ । जसको लागि खोप दिने स्वास्थ्यकर्मी ४०३ र स्वयम्सेवक ७९९ गरी १२ सय २ जना जनशक्ति खटाईने भएको कार्यालयले जनाएको छ । विद्यालयमा २८३, स्वास्थ्य संस्थामा ९२ समुदाय तथा खोप केन्द्रमा २१ गरी जिल्लामा ३९६ ओटा खोप केन्द्रहरु तोकिएको छ । यौन सम्पर्कबाट पनि क्यान्सर सर्ने प्रचुर सम्भावना रहेका हुँदा यो उमेरका किशोरीहरुमा यौनसम्पर्कको कनेक्सन भैनसक्ने हुँदा सो उमेरका किशोरीहरुलाई खोपले लक्षित गरेको छ ।