Wednesday, September 9News That Matters

उदयपुरमा एम्बुलेन्सको भाडादर समायोजन, तोकिएभन्दा बढी लिए कारवाही

२४ भदौ, २०८३ । उदयपुर
उदयपुरमा एम्बुलेन्सहरुले मनमोली भाडा उठाउने जनगुनासो बढेपछि जिल्ला एम्बुलेन्स ब्यवस्थापन समितिले नयाँ दर लागू गरेको छ । एम्बुलेन्सले भाडा लिँदा बिल र रसिद काट्नुपर्नेछ अनिवार्य गरिएको छ ।
सडकको अवस्था, महँगी तथा नागरिकबाट प्राप्त गुनासोलाई आधार बनाएर उदयपुरबाट सञ्चालन हुने एम्बुलेन्सको भाडादर निर्धारण गरिएको स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी चिरन्जिवि निरौलाले बताए ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको समितिको निर्णयअनुसार जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले विभिन्न गन्तब्यका लागि नयाँ भाडादर सार्बजनिक गरेको छ । जिल्लाको बोक्सेस्थित उदयपुर अस्पताल र कटारी स्थित प्रादेशिक अस्पताललाई केन्द्र बनाएर नजिक तथा टाढा दुरीको छुट्टाछुट्टै भाडादर तोकिएको छ ।
स्वास्थ्य कार्यालय उदयपुरले सार्वजनिक गरेको विवरणअनुसार गाईघाटबाट धरान र इटहरी ६ हजार, विराटनगर ६ हजार, राजविराज ४ हजार, जनकपुर ७ हजार, काठमाडौं १७ हजार ५ सय लगायतका स्थानका लागि भाडादर तोकिएको छ । अन्य गन्तव्यका लागि पनि दूरी र सडक अवस्थाअनुसार भाडादर कायम गरिएको छ ।
तोकिएको भाडादरभन्दा बढी रकम लिएको पाइएमा कारवाही हुने कार्यालयले जनाएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले पत्रचार गरेर प्रदेश अन्तर्गतका जिल्लामा एम्बुलेन्सको उचित भाडादर तोक्न निर्देश गरेको थियो ।
भाडादर सार्बजनिक भएपछि सर्बसाधारणहरुबाट तोकिएको भाडादर महंगो भएको गुनासो आएको र एम्बुलेन्स सञ्चालकहरुले कमी भएको गुनासो आएको सुचना अधिकारी निरौलाले बताए । तर, सबै कुरालाई मध्येनजर गरी प्रजिअ, सुरक्षा प्रमुखहरु, ट्राफिक, एम्बुलेन्स सञ्चालक समिति लगायत सरोकारवालाको उपस्थितिमा निर्धाण गरिएको उनले बताए । समितिले हरेक वर्षमा एम्बुलेन्सको भाडादर पुनरावलोकन गर्नेसमेत जनाएको छ ।
चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा जिल्लाभर ४० वटा एम्बलुन्स रहेकोमा हाल ३४ वटा सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।