Friday, June 5News That Matters

उदयपुरमा किरात प्रदेश बारे उम्मेदवारहरु सँग छलफल

पूर्णपुष्टि, कार्तिक १५
यहि आउँदो मंसिर ४ गते आशन्न प्रदेश र संघको चुनाव हुँदैछ । किरात राई यायोख्खाले भने यसै अवसरमा प्रदेश नं १ लाई किँरात प्रदेशको नाम आह्वान गर्दै उम्मेदवारहरु सँग बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । हाल सम्म पनि नाम बिहिन अवस्थामा रहेको प्रदेश नं १ को नाम टुँगो नलाग्दै सांसदहरुको पहिलो कार्यकाल सकियो । किँरात राई यायोख्खाले प्रदेश नं १ लाई पहिचानको आधारमा नामकरण गर्नु पर्ने माग सहित किराँत प्रदेश नामकरणको नाम प्रस्ताव गरिरहेको अवस्था थियो । यायोख्खाका अनुसार पहिचान स्वीकार्न नसक्ने राजनितिक दल र सांसदहरुका कारण किँरात प्रदेश नामकरणमा आनाकानीकै कारण कुनै पनि नाम प्रदेशले पाउन नसकेको जनाए । किरात प्रदेश राखेमा यहाँको भुगोल, सभ्यता, संस्कृति भाषा, संस्कार र पहिचान समेटिने भन्दै यायोख्खाले किँरात प्रदेशको नाम प्रस्ताव गरिएकोमा दल र सांसदहरुले नामका लागि आनाकानी गरेको जनाईएको छ ।
नामको बिषयमा दलहरुको आआफ्नै नामहरु प्रस्ताव गरेका थिए । किरात प्रदेश, कोशी, सगरमाथा, कोशी किरात, किरात लिम्वुवान नामको कुरा उठेपनि आवाजमा मात्रै सिमित रह्यो तर ब्यवाहरमा भने कुनै नाम आएन । यसै सन्दर्भमा पार्टी र नेताहरुले हिजो पहिचानलाई स्वीकार्ने अनि आज लत्याएको आरोप लगाउँदै यस बिषयमा किराँत राई यायोख्खा केन्द्रीय कार्यसमितिले उदयपुरमा उम्मेदवारहरु बिच भव्य अन्तरक्रिया कार्यक्रम राखेको हो ।

केन्द्रीय सहअध्यक्ष ज्ञान वहादुर राईका अनुसार किरात प्रदेशका लागि आवाज उठाउन अनुरोध गर्दै यसो नगरे त्यस्ता उम्मेदवारहरुलाई अबको दिनमा बिचार गरेर मात्रै भोट हाल्न सकिने जनाउनुभयो । मंगलबार प्रदेश नं १ भरी रहेका १४ ओटै जिल्लाहरुमा उम्मेदवारहरु सित अन्तरक्रियाको कार्यक्रम राखिएको राईले जनाउनुभयो ।
घोषणा पत्रहरुमा छरपस्टै पहिचानको कुरा उल्लेख गर्ने अनि नामकरण गर्ने बेला पहिचानलाई जातमा मिसाउने भन्दै यस्तो नेता तथा राजनितिक दलहरुलाई नो भोटको समेत अभियान चलाईने केन्द्रको निष्कर्श छ । अन्तरक्रियामा प्रदेश र संघका उम्मेदवारहरु देवराज राई, गोपाल चन्द्र राई, सिद्धान्त राई, विश्वराज राई र इश्वरमणी राउत सहितका उम्मेदवारहरु उपस्थित रहेका थिए
। उनिहरुले पहिचानलाई स्वीकार्दै नामकरण पहिचानकै बिषयमा राखिने प्रतिवद्धता दिएका छन् । कार्यक्रम केन्द्रको आयोजना तथा किराँत राई यायोख्खा प्रदेश नं १ को सहजीकरण र जिल्ला कार्यसमिति उदयपुरको व्यवस्थापनमा गाईघाट स्थित ड्रिमल्याण्ड होटलमा भएको थियो ।