
पूर्णपुष्टि, जेष्ठ २
उदयपुरमा गठबन्धनले अग्रता कायमै राखेको छ । आठ पालिका मध्ये छ वटामा मतगणना जारी रहदा गठबन्धनको अग्रता देखिएको छ । गठबन्धनको अग्रता देखिएको चार पालिका मध्ये एक लिम्चुङबुङ गाउँपालिकामा जीत भइसकेको छ । सो पालिकामा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का मेजर राईले अध्यक्षमा विजयी हाँसिल गर्नुभयो भने उपाध्यक्षम गठबन्धनतर्फकै नेपाली काङ्ग्रेसका पुष्पलाल राईले विजय हाँसिल गर्नुभयो । विजयी अध्यक्ष र उपाधयक्षले क्रमशः २,०५१ र १,९७३ मत प्राप्त गरेका थिए ।
बेलका नगरपालिका, रौतामाई गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा गठबन्धन अग्रता छ । बेलकामा गठबन्धनतर्फको अध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका अशोक कार्की ४,५७० मत र उपाध्यक्ष नेकपा (माओवादी केन्द्र) का मनोज तामाङ ३,४७३ मतका साथ अग्रस्थानमा छन् । त्यहाँ एमालेको अध्यक्ष उम्मेदवार दुर्गाकुमार थापा फराकिलो मतान्तर १,६०७ मा रहेका छन् । निवर्तमान मेयरसमेत रहेका थापाको मत २९६३ रहेको छ । एमालेको उपाध्यक्ष उम्मेदवार जिरा राई भने ६० मतको अन्तरमा पछि रहेकी छिन् ।
उदयपुरगढीमा गठबन्धनतर्फको नेकपा (एस) का अध्यक्ष उम्मेदवार मानबहादुर केप्छाकी मगर ७२७ मत अन्तरमा अग्रस्थानमा हुनुहुन्छ । मगरको हालसम्म प्राप्त मत ३५३३ रहेको छ भने निकटतम् प्रतिद्वन्द्वि एमालेका गोपाल खत्रीको मत २,८०६ रहेको छ । सो पालिकाको उपाध्यक्षमा गठबन्धनकै अग्रता छ । गठबन्धनतर्फको उपाध्यक्ष उम्मेदवार नेपाली काङ्ग्रेसका जितबहादुर खड्काको मत ३,४०४ रहेको छ भने एमालेको शोभा मगरको मत २,६३४ रहेको छ ।
रौतामाईमा गठबन्धनतफैको नेकपा (माके) का अध्यक्ष उम्मेदवार विरेन्द्र मगर २८०२ मतका साथ अग्रस्थानमा छन् । निकटतम् प्रतिद्वन्द्वि एमालेका भरतबहादुर थापाको मत २३१९ रहेको छ । उपाध्यक्षमा गठबन्धनकै अग्रता छ । गठबन्धनतर्फका उपाध्यक्ष उम्मेदवार नेपाली काङ्ग्रेसका भुपेन्द्र थापाको मत २,३२३ रहेको छ भने एमालेकी कुमारी राना ज्यू ठकुरीको २,१७४ रहेको छ । ठकुरी निवर्तमान उपाध्यक्ष हुन् ।
दुईवटा पालिकाहरुमा भने एमालेको अग्रता रहेको छ । चौदण्डीगढी नगरपालिका र ताप्ली गाउँपालिकामा एमालेको अग्रता रहेको छ । चौदण्डीमा एमालेका मेयर उम्मेदवार कालु लामा ३,८३२ मत र उपमेयर उम्मेदवार मनिकादेवी दुलाल ३,७३८ मतका साथ अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वि नेपाली काङ्ग्रेसका मेयर उम्मेदवार खगेन्द्र राईले २,९४८ मत र उपमेयर उम्मेदवार रिताकुमारी चौधरी २,९८२ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका दुबै उम्मेदवार निवर्तमान मेयर र उपमेयर हुन् । सो पालिकामा गठबन्धन तेस्रोस्थानमा छ ।
ताप्ली गाउँपालिकामा सुरुदेखि नै एमालेको अग्रता कायम रहेको छ । एमालेका अध्यक्ष बाबुराम राई १,४४२ मतका साथ अग्रस्थानमा छ भने गठबन्धनतर्फको नेकपा (मा.के.) का ढुङ्गराज विकले ८० मत अन्तरमा पछ्याइरहेका छन् । सुरुमा ठुलो मतान्तर रहेको थियो । पाँच वडामध्ये चार वडाको मतगणनासम्ममा थोरै अङ्कमा झारेको गठबन्धनले बाँकी एकवडाको मतगणनामा उछिन्न सक्ने आकलन गरेको छ । सो पालिकाको उपाध्यक्षमा भने गठबन्धनतर्फ नेपालीक काङ्ग्रेसकी धना मगर फराकिलो मतान्तरका साथ अग्रस्थानमा रहनु भएको छ । उहाँको २,१५५ मत रहदा निकटतम् प्रतिद्वन्द्वि एमालेकी मानकुमारी थापाको मत ८६६ रहेको छ ।
बाँकी दुई नगरपालिकाहरु त्रियुगा र कटारीको मतगणना अझ सुरु हुन सकेको छैन । त्रियुगा–१२ को पुनःनिर्वाचन अझ टुङ्गो लागेको छैन । सो वडाको पुनःमतदानपछि मात्र गणना सुरु हुने जनाइएको छ । कटारी–१० मा गोली लागी मृतक युवाको शब र मतपेटिका हिजोमात्र कटारी ल्याइएको छ । शबको पोष्टमार्टम र सद्गद् गरेपछि मात्र गणना हुने अवस्था रहेको कटारी निर्वाचन अधिकृत राजकुमार राउतले बताउनुभयो ।
