
पूर्णपुष्टि/उदयपुर, पुस २२ गते ।
उद्योग गरौं, उद्यमी बनौं – स्वदेशी बस्तुको प्रयोग गरौं” भन्ने मुल नाराका साथ उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबारदेखि १ नम्बर प्रदेशस्तरीय प्रथम घरेलु औद्योगिक महोत्सव ०७४ सुरु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा उदयपुरको आयोजना र जिल्लाका आठ वटै स्थानीय तहको सहप्रायोजनमा भएको महोत्सवमा घरेलु उत्पादनका विशेष प्रदर्शनी हुने शाखा अध्यक्ष मधुकर थापाले बताउनुभयो ।
विभिन्न जातीय भेषभुषा र जातीय झाँकीसहितको विशेष र्यालीले गाईघाटबजार परिक्रमा गरी सुरु भएको महोत्सवको एक विशेषसमारोहकाबीच महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले यस्ता प्रदर्शनीले साना घरेलु उद्यमीहरुलाई उद्यम गर्न र उद्यमी बन्न प्रोत्साहित गर्ने बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग विकास समिति केन्द्रिय कार्यालयका निमित्त मूख्य निर्देशक सुरेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेल, प्रहरी प्रमुख एसपी नवराज भट्ट, नगर तथा गाउँपालिका प्रमुख तथा उपप्रमुख, सुरक्षा तथा कार्यालय प्रमुख, राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुले आतिथ्य ग्रहण गर्दै प्रदर्शनीको अवलोकन गरेका थिए ।
प्रदर्शनीमा घरेलु उत्पादनका खाद्यबस्तु, कृषि उत्पादन, घरेलु सिप तथा कला, जातीय भेषभुषा तथा जातीय परिकारहरुको विभिन्न स्टलहरु राखिएका छन् । १ नम्बर प्रदेश अन्तर्गतका खोटाङ, ओखलढुंगा, शोलु, धनकुटा, भोजपुर, सुनसरी, मोरङ लगायतका जिल्लाहरुबाटसमेत प्रदर्शनीका लागि आप्mना उत्पादनसहित उद्यमीहरु आएका छन् । घरेलु उत्पादनका खाद्यतर्फ दालमोठ, भूजिया, बटारी, अचार, आलुचिप्स, पिरती आदि छन् । कृषि उत्पादनतर्फ सुन्तला, कागती, निभुवा आदि छन् । ढाकाको कपडाका साथै टोपी, दौरासुरुवाल, पछेउरी, रुमाल, उनीका सुईटर, टोपी आदि छन् । त्यस्तै विभिन्न हस्तकलाहरुसमेत राखिएका छन् । जडिबुटी, साहित्य कृतिसमेत प्रदर्शनमा राखिएका छन् ।
आयोजक समितिका सदस्य साइमा किँरातीका अनुसार महोत्सवले स्थानीय उद्योगको मौलिक उत्पादन प्रदर्शनी, महिला उद्यमशीलता प्रदर्शनी, हस्तकलाका सामग्रीहरु प्रदर्शनी, युवा बैज्ञानिकहरुको खोज अनुसन्धान र नवीनतम प्रबिधि, बन पशु र कृषिमा आधारित उद्योग धन्दाको प्रदर्शनीको अवसर मिलेको छ । साथै प्रदेश अन्तर्गतका फरकफरक जिल्लाका उद्यमीहरुबीच अन्तरक्रिया, परिचयसमेत भएको उहाँले बताउनुभयो ।
आफ्ना उत्पादनहरु प्रदर्शनीमा राख्नुका साथै विक्री वितरणसमेत गर्न पाएकोमा उद्यमीहरुले खुसी व्यक्त गरेका छन् । नौंदिनसम्म सन्चालन हुने महोत्सवमा विभिन्न बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा मनोरञ्जनात्मक कार्यक्रमसमेत राखिएका छन् ।
यो पनि…
प्रदर्शनीका आकर्षणका भिडियो