
पूर्णपुष्टि, फागुन ८ । उदयपुरको त्रियुगा नगरपालिका–१५ खाबुमा घाँस काट्न गएको एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसो घर बाट घाँस काट्न हिँडेका ६१ वर्षीय शेरबहादुर मगरको शव मंगलबार साँझ जंगल नजिकैको भीरमुनी फेला परेको हो ।
वडाध्यक्ष गणेश तिमिल्सिनाका अनुसार मगर घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । सोमबार दिउँसो घरबाट हिँडेका मगर राति अबेरसम्म घर नफर्केपछि परिवारजनले आफन्त र छिमेकीकहाँ खोजी गरेका थिए । कतैबाट जानकारी नपाएपछि स्थानीयले जंगलमा खोजी गर्दा भीरमुनी शव फेला परेको थियो । प्रहरीलाई खबर गरिएपछि शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।