Friday, February 7News That Matters

उदयपुरमा चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घट्यो

पूर्णपुष्टि, पुष २६ । उदयपुरमा विगत चार दिनदेखि जारी शीतलहर र चिसोका कारण विद्यालयहरूमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको छ । विशेषगरी आधारभूत तहका विद्यार्थीहरूको उपस्थिति गम्भीर रूपमा प्रभावित भएको शिक्षकहरूले बताएका छन् ।

त्रियुगा नगरपालिका–१ स्थित जोगीदह जनता माविका शिक्षक देवन राईका अनुसार त्रियुगा र चौदण्डीगढी नगरपालिकाका सरकारी तथा निजी विद्यालयहरूमा साना कक्षाका विद्यार्थीको उपस्थिति निकै कम छ । त्रियुगा–११ मा रहेको पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाले कक्षा ४ भन्दा तल्ला कक्षाका विद्यार्थीको उपस्थिति २५ प्रतिशतमा झरेको जानकारी दिए ।

चौदण्डीगढी–९ हडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीले अचानक बढेको चिसो र शीतलहरका कारण साना कक्षाका विद्यार्थीहरू प्रभावित भएको बताए । ‘विशेषगरी आधारभूत तहका विद्यार्थीहरू चिसोको चपेटामा परेका छन्,’ उनले भने । अभिभावकहरू पनि चिसोको जोखिमलाई मध्यनजर गर्दै बालबालिकालाई विद्यालय पठाउन हिच्किचाएका छन् ।

त्रियुगा नगरपालिका–१३ पोर्ताहका अभिभावक रामदेव चौधरीले भने, ‘शीतलहर र हुस्सुका कारण नानीहरूलाई विद्यालय पठाउन सक्ने अवस्था छैन । उनीहरूलाई न्यानो लुगा ओढाएर घरमै राख्नुपरेको छ ।’ तराई क्षेत्रको त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिका क्षेत्रमा शीतलहरको प्रभाव बढी देखिएको स्थानीयहरू बताउँछन् । चिसो बढ्दै गएपछि वृद्धवृद्धाहरू पनि घरभित्र आगो तापेर बस्न बाध्य भएका छन् ।