Saturday, June 20News That Matters

उदयपुरमा दोस्रो डोज भेरोसेल खोप १० गतेबाट लगाउने निर्णय

पूर्णपुष्टि, भदौ ८

उदयपुरमा कोरोना भाइरस विरुद्धको पहिलो मात्राका भेरोसेल खोप लगाएका व्यक्तिहरुलाई दोस्रो डोज खोप भदौ १० गतेबाट आठै पालिकमा लगाउन सुरु गरिने निर्णय भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

२०७८ साल असार र साउनमा कोरोना विरुद्धको पहिलो डोज भेरोसेल खोप लगाएको लक्षित वर्गलाई साविककै खोपकेन्द्रहरुबाट दोस्रो डोज खोप सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन प्रसाद सूवेदीले बताउनुभयो । सूवेदीका अनुसार सबै पालिकाहरुमा यही भदौ १० गते देखि २१ गते सम्म खोप लगाउने कार्य सञ्चालन हुने छ ।

त्रियुगा नगरपालिकामा त्रियुगा नगरपालिकाको भवन र अन्तर्गतका स्वास्थ्य चौकीहरुमा भदौ १० र ११ गते खोप लगाइने छ । त्यस्तै, उदयपुर अस्पतालमा पनि १० र ११ गते नै खोप लगाउने कार्य रहेको छ ।

चौदण्डीगढी र बेलका नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा भदौ १० र ११ गते दुई दिन खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी, उदयपुरगढी गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा भदौ १० र ११ गते खोप लगाइने छ । लिम्चुङबुङ र रौतामाई गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा  भदौ ११ र १२ गते खोप सञ्चालन गरिने छ ।

कटारी नगरपालिका र ताप्पी गाउँपालिका अन्र्तगत रहेका स्वास्थ्य चौकीहरुमा भदौ २० र २१ गते खोप लगाइने कार्यक्रम रहेको छ ।

दोस्रो मात्राको खोप लगाउन आउदा अनिर्वाय रुपमा पहिलो डोज खोप लगाएको खोपकार्ड र परिचय पत्रसहित खोप लगाउन आउन स्वास्थ्य कार्यालयले अनुरोध गरको छ ।