
पूर्णपुष्टि/उदयपुर, मंसीर २५ गते ।
निकै रोचक र चासोपूर्णढंगले हेरिएको उदयपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ मा बामगठबन्धनको उम्मेदवार नेकपा एमालेकी मञ्जुकुमारी चौधरीलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मदेवार डा. नारायण खड्का विजयी भएका छन् । सोमबार बिहान डा. खड्काले ५४८ मतले चौधरीलाई पछि पार्दै विजयी हुनुभएको हो । उहाँको मत ३३,१४२ हुदा चौधरीको ३२,५९४ मत प्राप्त गर्नुभयो ।
योसंगै २ प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको उदयपुरको प्रत्यक्षतर्फको १ लाख १७ हजार ४४० मतगणना सकिएको छ । अन्तिम मतपरिणामबाट बामगठबन्धनले एक महिलासहित ४ सिट र कांग्रेसले २ सिटमा विजय हाँसिल गरेको छ । प्रतिनिधिसभामा दुबैतर्फको १/१ सिटमा जीत हात परेको छ । प्रतिनिधिसभा २ तर्फ तीनै सिट बामगठबन्धनले जीतेको छ भने १ मा कांग्रेसले २ सीट र बामगठबन्धनले १ सिटमा चित्त बुझाउनु परेको छ ।
प्रतिनिधिसभा २ मा बामगठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेशकुमार राईले २२,५५१ मतकासाथ विजय हाँसिल गर्नुभयो । उहाँले १५,१९४ मत प्राप्त गर्नुहुने नेपाली कांग्रेसका नारायणबहादुर कार्कीलाई ७,०९६ मतले पछि पार्नु भयो । प्रदेशसभा २ (क) मा बामगठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार नारायणबहादुर बुर्जा मगर ८,९७० मतकासाथ विजयी हुनुभयो । उहाँले निकटतम् प्रतिद्वन्द्वि कांग्रेसका भेषबहादुर थापामगरलाई ३,९३६ मतले पछि पार्नुभयो । २ (ख) मा ४,४८३ मतान्तरमा एमालेकी कला घले विजयी हुनुभयो । १३, ५६९ मत घलेले प्राप्त गर्दा भने निकटतम् प्रतिद्वन्द्वि कांग्रेसकै रामबहादुर खत्रीले ८,९७६ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै प्रदेशसभा १ (क) मा १७,५०१ मतका साथ एमालेका विमल कार्कीले विजय हाँसिल गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वि कांग्रेसका बिदुरबाबु बस्नेतले १५,८४४ मत प्राप्त गर्नुभयो । १ (ख) मा १६,७९२ मतका साथ कांग्रेसका हिमाल कार्कीले विजय हाँसिल गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वि माओवादी केन्द्रका रामबहादुर थापामगरले १५,१९४ मत प्राप्त गर्नुभयो ।
मुख्य निर्बाचन अघिकृत तेजेन्द्रप्रसाद शर्माका अनुसार मंगलबारदेखि समानुपातिकतर्फको मतगणना कार्य पनि सुरु हुनेछ । समानुपातिकतर्फको मतलाई गणनास्थल सदरमुकामको त्रियुगा उमाविको कोठामा नै सिलबन्दी गरि सुरक्षा घेरामा राखिएको जनाइएको छ ।