
पूर्णपुष्टि, चैत्र २६ । उदयपुरको त्रियुगा नगरपालिका–९ रातमाटे स्थितमा लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ४ युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरिहरनाथ योगीका अनुसार आइतबार राति ११:४० बजेको समयमा सवारी चेकजाँचका क्रममा गाईघाटबाट साउनेतर्फ जाँदै गरेको बा ११ च ९४११ नम्बरको कारबाट करिब ७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको हो ।
लागुऔषध जस्तो देखिने पदार्थ बरामद भएसँगै कार चालक भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ का ३१ वर्षीय आशिष जोशी, गोर्खा नगरपालिका–७ का २५ वर्षीय सबिन गान्दारी मगर, सोलुखुम्बु घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–९ मा बस्ने २१ वर्षीय बरबिन खत्री र सुनसरी बराहक्षेत्र नगरपालिका–११ का एलिया बलम्पाखी मगरलाई पक्राउ गरिएको एसपी योगीले बताए । बरामद पदार्थ वास्तविक ब्राउन सुगर हो वा होइन भन्ने बारे अहिले केही खुलिनसकेको तर विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।