Wednesday, April 22News That Matters

उदयपुरमा भारी वर्षाले विश्व बैंक सहयोगको सडक निर्माण प्रभावित

पूर्णपुष्टि, असार २७ ।
गत असार २४ गतेदेखिको भारी वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिकामा विश्व बैंकको सहयोगमा निर्माणाधीन आधुनिक सडक परियोजना प्रभावित भएको छ। आशिष आशिर्वाद स्वामी नारायण जेभीका आयोजना साइड इन्चार्ज उमेश कुमार बुढाथोकीका अनुसार, वर्षाले गर्दा सडक निर्माण कार्य अवरुद्ध भएको छ।
परियोजना अन्तर्गत विभिन्न छ स्थानमा विद्युतीकरण र नाली निर्माणको काम भइरहेको थियो । विद्युतीकरणतर्फ पोल गाड्ने र तार टाँग्ने काम चलिरहेको थियो, तर वर्षाले जमिन कमजोर बनाएपछि पोल गाड्न कठिनाइ भएको छ । त्यसैगरी, नाली निर्माणतर्फ सडकको दुवैतिर नाली बनाउने काम भइरहेको थियो, जुन नालीमा पानी जमेका कारण रोकिएको छ ।
यस अवरोधले स्थानीय मजदुरहरूको रोजगारीमा समेत असर परेको छ। साथै, पूर्व(पश्चिम बरुवा बसपार्कस्थित आयोजनाको क्याम्प डुबानमा परेको छ, जसले गर्दा निर्माण सामग्रीमा क्षति पुगेको र कर्मचारीहरूको बसोबासमा समस्या आएको जनाइएको छ । बुढाथोकीले मौसम अनुकूल हुने बित्तिकै काम पुनः सुचारु गरिने बताए ।
त्रियुगा नगरपालिका मेयर बसन्त बस्तेतले परियोजना त्रियुगा नगरपालिकाको अहिलेसम्मकै ठूलो लगानीको आयोजना, जसमा विश्व बैंकको ६६ करोड लगानीमा ४ वटा वडामा १४।५ किलोमिटर आधुनिक सडक निर्माण हुने बताए ।

परियोजना दुई प्याकेजमा विभाजित छ । पहिलो प्याकेजमा वडा नं। १० र ११ मा ४५ करोड ६१ लाख ६२ हजारको लागतमा ९।९२७ किलोमिटर सडक, र दोस्रो प्याकेजमा वडा नं। १२ र १३ मा २० करोड ३८ लाख ४८ हजारको लागतमा सडक निर्माण हुँदैछ । दुवै प्याकेजको ठेक्का आशिष आशिर्वाद स्वामी नारायण जेभीसँग सम्झौता भएको छ ।