Friday, May 15News That Matters

उदयपुरमा मानवअधिकार हननका घटनामा बृद्धि

पूर्णपुष्टि, पुस १५ गते ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानवअधिकार पुस्तक २०२० का लागि तयार पारेको प्रतिबेदनबाट उदयपुर जिल्लामा गतवर्षको तुलनामा मानवअधिकारका घटना बृद्धि भएको देखिएको छ ।

प्रतिवेदन अनुसार अघिल्लो वर्ष मानवअधिकार हनन्का ८६ घटना रहेकामा अहिलेसम्मको एकवर्षको अवधिमा १०३ वटा घटना घटेका छन् । हत्या, बलात्कार, बालविवाह, बहुविवाह र घरेलु हिंसा जस्ता मानवअधिकार हनन्का घटनाहरु गएको वर्षभन्दा बढि देखिएको हो । नेकपा माओवादी विप्लब समुहको बम विष्फोटदेखि ६ वर्षिया बालिका बलात्कारसम्मका घटना देखिएका छन् ।

यसवर्ष हत्या ११, बालिका बलात्कार तथा प्रयास ३०, महिला बलात्कार तथा प्रयास २३, घरेलु हिंसा १३, बहुविवाह १७, नाताकायम १, वालविवाह ३, बालबालिका कुटपिट १, मानव ओसारपसार १ र विप्लब समुह बम विस्फोट ३ गरी जम्मा १०३ वटा मानवअधिकार हनन्का घटना भएका छन् ।

मानवअधिकार उलंघनका घटना राज्य भन्दा गैरराज्य पक्षबाट, ब्यक्ति वा समुहबाट बढि भइरहेको मानवअधिकार सञ्जाल उदयपुरको ठहर छ । सञ्जालका उदयपुर अध्यक्ष भरत खड्काका अनुसार राज्य पक्ष भन्दा गैरराज्य पक्ष, विभिन्न व्यक्ति र समुहबाट मानवअधिकार हनन्का घटना भइरहेको बताउनुभयो ।

शिक्षित समाज बढ्दै गएको अवस्था र मानवअधिकार सम्बन्धी सचेतना बढ्दै गएको अवस्थामा देखिएको मानवअधिकार हनन्को बढ्दो अवस्थालाई विभिन्न रुपले विश्लेषण गरेको पाइएको छ । १ नं. प्रदेशका सांसद अम्बिका थापाले कार्यक्रमको प्रमुख आतिथ्यको हैसियतले बोल्दै पहिले जस्तो सुकै घटना पनि लाज वा दवावले दवाउने गरिएकोमा अवका दिनमा बाहिर आउन थालेको बताउनुभयो । मावनअधिकार सबैका लागि हो भन्ने ज्ञान र चेतना मानवअधिकारकर्मी, राजनीतिक दलहरुले बढाएको उपजको रुपमा पनि अहिले मानव अधिकार हनन्का घटना बढि देखिनु उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरको पनि सांसद थापाकै जस्तो मत रहेको छ । विगतमा बलात्कारसम्मको घटना पनि गाउँमै मिलाउने प्रयास हुने गरेको पाईएको छ । गाउँमा तीन चार पटकसम्म छलफल गर्ने, क्षतीपूर्तीको कुरा नमिलेमा मात्र प्रहरीमा उजुरी आउदा साता दिनदेखि महिनादिन पछिसम्म आउने गरेको पाइएको उहाँले बताउनुभयो । अझ पनि केही अवस्था त्यस्तो रहेको उहाँले बताउनुभयो । तर, धेरैजसोले घटना तुरुन्त बाहिर ल्याउने गरेकाले तथ्यांकमा विगत भन्दा अहिले धेरै देखिएको बताउनुभयो ।

जिल्ला अदालत उदयपुरका श्रेष्तेदार राजकुमार आचार्यले प्रहरी, प्रशासन र न्यायीक क्षेत्रबाट मात्र घटनाको न्यूनिकरण नहुने भएकाले सबै क्षेत्रको साथ सहयोगको अपरिहार्य रहेको बताउनुभयो । अपराध रहित समाजको कल्पना गर्न नसकिने तर न्यूनिकरणको कल्पना गर्न सकिने भएकाले सामाजिक दायित्वको रुपमा लिएर जानुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ, १ नं. प्रदेशका सचिव हरिकुमार राईले दण्डहिनता बढ्नु, स्वतन्त्रता बढ्नु, लागू औषध दुब्र्यसनका कारण पनि मानवअधिकार हनन्का घटना बृद्धि भईरहेको बताउनुभयो । गरिबीका कारण पनि कतिपय अवस्थामा यस्ता घटना हुने गरेको पाईएको उहाँले बताउनुभयो ।

गैर सरकारी संस्था महासंघकी केन्द्रिय सदस्य महेशवरी राईले अवको दिनमा मानवअधिकारलाई आर्थिक, सामाजिक, सांकृतिक अधिकारसंग जोडेर अगाडी लैजानुपर्ने विचार राख्नुभयो ।

मानवअधिकारको जनचेतना बढेसंगै मानवअधिकार हनन्का घटना बढि देखिदै गएको अवस्थामा मानवअधिकारको क्षेत्रलाई अझ फराकिलो ढंगले हेर्नुपर्ने विचार पनि आएको छ । फराकिलो ढंगले हेरेमा भावी दिनमा उलंघनका घटना कमि आउने बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले घटनाका पिडितलाई क्षतिपूर्तीको हिसावले पनि मानवअधिकारको परिभाषा र कार्यन्वयन हुनुपर्ने बताउनुभयो ।

इन्सेक उदयपुरका प्रतिनिधि भरत खड्काले वर्षदिनको घटना प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रममा प्राप्त सल्लाह, सुझावसमेतलाई आगामी मानवअधिकार वर्ष पुस्तकमा समेटिने प्रतिवेदन तयार गर्ने बताउनुभयो ।

तस्बिरहरु :