Friday, February 14News That Matters

उदयपुरमा ‘राइड टु कोशी २०८१’: साइकल यात्रा हुने

पूर्णपुष्टि, माघ १७ । उदयपुर जिल्ला साइक्लिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा फागुन १६ र १७ गते ‘राइड टु कोशी २०८१’ कार्यक्रम आयोजना हुने भएको छ । पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणको उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा देशभरका ३०० देखि ५०० सम्म साइकल राइडरहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

जिल्ला साइक्लिङ संघका अध्यक्ष माधव बानियाका अनुसार, साइकल यात्रा त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भई बेलटार र रामपुर हुँदै चतरा तथा उदयपुर तर्फको कोशीटप्पुसम्म पुग्नेछ । पहिलो दिनको यात्रा कोशीटप्पुमा सकिने र दोस्रो दिन पुनः गाईघाटमा फर्केर समापन गरिने कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार यो कार्यक्रम स्वास्थ्य, फिटनेस र वातावरणीय सचेतना प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । विशेषगरी बढ्दो शहरीकरणले वातावरणमा पारेको नकारात्मक प्रभावबारे जनचेतना जगाउन यो कार्यक्रम महत्वपूर्ण रहने बताइएको छ ।

कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्षको रूपमा घोषणा गरेको सन्दर्भमा यस कार्यक्रमले उदयपुर जिल्लाको पर्यटन विकासमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ । कार्यक्रममा सहभागी हुन चाहने राइडरहरूका लागि अनलाइन फर्म खुला गरिएको आयोजकले जानकारी दिएको छ ।