
पूर्णपुष्टि, असोज १७ । कोशी प्रदेशकी राज्यमन्त्री सृजना राईमाथि उदयपुरमा लुटपाटको प्रयास भएको छ । बाढी प्रभावित क्षेत्रको अनुगमनपछि विराटनगर फर्कने क्रममा उदयपुरको बेलका नगरपालिका-८ स्थित सिरवानीमा मंगलबार राति करिब १० बजे ६ जनाको समूहले उनको गाडीमाथि आक्रमण गरेको थियो ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङका अनुसार राज्यमन्त्री सवार प्रदेश १-०४-००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट गर्न खोजिएको थियो । तर चालकले गाडी नरोकेपछि समूहले ढुंगा प्रहार गरेको थियो । ढुंगा लागे पनि गाडीमा खासै क्षति नभएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरीले बुधबार बिहानदेखि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा स्थानीय आकाश राई, विशाल राई, थानवीर राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राई पक्राउ परेका छन् । उनीहरूको साथबाट घटनामा प्रयोग भएको एउटा टर्चलाइट र हँसिया बरामद गरिएको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूले गाँजा बोकेको गाडी ठानेर रोक्ने प्रयास गरेका थिए । पछि राज्यमन्त्रीको गाडी भएको थाहा पाएपछि भागेका थिए । उक्त क्षेत्रमा पहिलेदेखि नै समूह बनाएर गाँजा ओसारपसार गर्ने गाडी लुट्ने गरेको प्रहरीको दाबी छ । डिआइजी खापुङले भने, “राति लुटपाटकै उद्देश्यले राज्यमन्त्रीको गाडीमाथि आक्रमण भएको हो । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।”
