
पूर्णपुष्टि, माघ १२ । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितबाट प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ बस्ने २६ बर्षीय सविन राई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डएसपी) केदारमान दोङका अनुसार आइतबार ३ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लाहानबाट गाईघाटतर्फ आउदै गरेको बा ९५ प ६२९१ नं. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा चालक राईको साथबाट लागुऔषध फेला परेको हो ।
राईको साथबाट डाइजेपाम–५० एम्पुल, फेनारगन–५० एम्पुल, ब्रुपिनोर्फिन–५० एम्पुल गरी जम्मा १५० एम्पुल लागू औषध र २ थान सिरिन्ज बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
