
पूर्णपुष्टि, जेष्ठ २३
उदयपुरमा विभिन्न प्रजातीका वृक्षारोपण गरेर वातावरण दिवस मनाएको छ । कोरोना भाइरसको कारणले यो वर्ष विगतको जस्तो वृहत कार्यक्रम गर्न नसकिएता पनि डिभिजन वन कार्यालय गाईघाटको सहयोगमा ५ सय विरुवा रोेपेर मनाएको हो । “नयाँ सोच र सृजना, प्राकृतिक प्रणालीको पुर्नस्थापना” भन्ने नाराका साथ शनिबार दिवस भनाएको छ । दिवसको अवसरमा जिल्लाका विभिन्न खाली स्थानमा सिमल, बेल, हर्राे, बर्राे अमला, शनि, निम, रिठ्ठा जस्ता विरुवा रोपिएका छन् ।
चौदण्डीगढी नगरपालिका–१० खैराझोराको त्रियुगा नदी उकास जग्गामा महाभारत सामुदायिक वन उपभोक्ता समूहको सहकार्य र डिभिजन वन कार्यालय गाईघाटको प्राविधिक र विरुवा सहयोगमा १ सय बढी विरुवा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जानकारी दिनुभयो ।
यस्तै, त्रियुगा नगरपालिका–३ स्थित शान्ति धाम परिषरमा उदयपुर जेसीसको सहकार्यमा र २ सय ५० वटा विरुवा वृक्षारोपण गरिएको छ ।
त्रियुगा नगरपालिका–५ स्थित खयरजोडी खोलाको उकास जग्गामा चौतारी युवा समूहको सहकार्यमा ५ सय विरुवा लगाउने उद्देश्य अनुरुप वातावरण दिवसको दिन ५० वटा विरुवा वृक्षारोपण गरिएको छ । चौतारी युवा समूहले जेष्ठ नागरिकबाट वृक्षारोपणको शुरुवात गरेको थियो । रोप्न बाँकी ४ सय ५० वटा विरुवा मध्ये २ सय मसला काठ र २ सय टिकको विरुवा र ५० वटा फलफुलको विरुवा लगाउने समूहले जनाएको छ ।
