
पूर्णपुष्टि, पुष १५
उदयपुरमा विद्यालयस्तरमै बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउने कार्य भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय क्याम्पसमा अध्ययनरत १२ देखि १७ उमेर समूहका विद्यार्थीलाई सम्बधित ठाउँमै पुगरेर खोप दिन थालिएको हो ।
आज गुरुङहरुको तमु ल्होसारका दिन सार्वजनिक विदा भएता पनि खोप लगाउने कार्य यथावत रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
अमेरिकन कम्पनीले उत्पादन गरेको मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमार्फत लगाउन सुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरन्जिवी निरौलाले बताउनुभयो । उनका अनुसार उदयपुरमा ४३ हजार ६ सय डोज मोडर्ना खोप आएको छ ।
उदयपुरका चार नगरपालिका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका तथा चार गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीमा खोप लगाउन बाँकी जनसंख्याको आधारमा वितरण गरेको निरौलाले जानकारी दिनुभयो ।