
पूर्णपुष्टि, मंसिर ६ । उदयपुरमा विभिन्न मुद्धाका ६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौ.न.पा २ बस्ने ३१ बर्षीय मान बहादुर कालिकोटे, चौ.न.पा १ बस्ने २१ बर्षीय परिवर्तित नाम १४-४-१ (A), त्रि.न.पा ७ बस्ने ५३ बर्षीय प्रकाश बहादुर दनुवार, ४५ बर्षीय शन्त बहादुर दनुवार, चौ.न.पा ९ बस्ने २६ बर्षीय चोकमान तामाङ र ३३ बर्षीय मरिचमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले मान बहादुर कालिकोटेलाई ज्यान मार्ने उद्योग मुद्धामा ४ बर्ष ११ महिना कैद, १४-४-१ (A) लाई सवारी ज्यान मुद्दामा १ बर्ष ११ महिना ८ दिन कैद, वन मुद्धामा प्रकाश बहादुर दनुवारलाई १८ दिन कैद, शन्त दनुवारलाई ३ दिन कैद र कुटपिट सम्बन्धि मुद्धामा चोकमान तामाङ र मरिचमान तामाङलाई सय–सय रुपैँया जरिवाना तोकेको हो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत युनिटहरुबाट खटिएको प्रहरी टोलीले मंसिर १ देखी ४ गतेसम्म विभिन्न मुद्धामा जिल्ला अदालतबाट सजाय तोकिएको ६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका सबैजनालाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।
