
उदयपुर । २०८२ फागुन १९
उदयपुरको चौदण्डीगढी नगरपालिका – २ लाटीखोलाको पुल नजिकै मदन भण्डारी लोकमार्गमा राजमार्ग नै बन्द हुनेगरी आज साँझ राखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
पशुपति प्रसाद गण पिपलटार ब्यारेक उदयपुरबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय गरेको हो । शङ्कास्पद वस्तु फेला परेको खबर लगत्तै नेपाल प्रहरी सशस्त्र प्रहरी घटनास्थलमा तैनाथ भएका थिए। लगत्तै निर्वाचन सुरक्षामा खटिएका नेपाली सेनासहितको संयुक्त टोली सुरक्षामा खटिएका थिए।
प्रारम्भिक जाँचका क्रममा उक्त वस्तु विस्फोटक पदार्थ नभएको सुरक्षा स्रोतले जनाएको छ । राखिएको ठाउँबाट ५० मिटर टाढा लगेर शंकास्पद वस्तु डिस्पोज गरिएको थियो।
राजमार्ग नै बन्द हुने गरी शंकास्पद वस्तु कसले र कुन मनसायले राख्यो भने कुरा खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको सुरक्षा स्रोतले जनाएको छ।
स्थानीयहरु भने विस्फोटक पदार्थ राखेको हुनसक्ने आशङ्का गरी त्रसित बनेका थिए । सवारी साधन सञ्चालन भइरहने व्यस्त सडकमा शङ्कास्पद वस्तु राखिएको पाइएको हो।
