
पूर्णपुष्टि, माद्द १ । उदयपुरमा सुन चोरी गर्ने र चोरीको सुन खरिद गर्ने ३ जना पक्राउ परेका छन् । जिल्लाको चौदण्ढीगढी नगरपालिका ४ अमलचौरी बस्ने अनिता मगरको घरबाट पौष २५ गते राती सुन चोरी गर्ने बेलका नगरपालिका ९ का बर्ष २८ का अनिल लामिछाने बिश्वकर्मा र सुन खरिद गर्ने दुई जना ब्यबसायीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) हरिहर नाथ योगीका अनुसार बिश्वकर्माले अनिताको घरमा कोहि नभएको मौका पारी दराज फोडेर ७ तोला सुनको गहना, चादीका गहना र नगद ५ हजार चोरी गरि भागेका थिए । घटना लगत्तै ईलाका प्रहरी कार्यालय बेलटारबाट प्रहरी निरीक्षक बबिन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले बिश्वकर्मालाई पौष २७ गते बिराटनगर स्थित गुद्री बजारबाट पक्राउ गरेको एसपी योगीले जनाए ।
सुन चोरी गरेकै दिन बिश्वकर्माले सप्तरीको फत्तेपुर स्थित एमके ज्वेलर्समा पनि सुन चोरी गर्न पुगेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ, तर उनले सुन चोरी गरे नगरेको बारे प्रहरीले केहि खुलाएको छैन । प्रहरीले चोरीको सुन किन्ने ब्यबसायीको नाम गोप्य राखेको छ । पक्राउ परेका तीनै जनालाई सोमबार जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।