
पूर्णपुष्टि, पुष २१ । नेपाली सेनाले आइतबारदेखि उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीबाट ८५ किलोमिटर लामो पैदलयात्रा सुरु गरेको छ । जिल्लाका ऐतिहासिक, पर्यटकीय तथा सामरिक महत्वका स्थानहरू चिनाउँदै स्थानीयसँग सम्बन्ध सुमधुर बनाउने उद्देश्यले सेनाको पशुपतिप्रसाद गण बोक्सेले पैदलयात्राको आयोजना गरेको हो ।
गणपति शिवप्रसाद वाग्लेका अनुसार महाभारत श्रृङ्खला पार गर्दै जाने यो यात्रा माघ २८ गते चौदण्डीगढी नगरपालिकाको पर्यटकीयस्थल चौदण्डीगढीमा पुगेर समापन हुनेछ । यात्राको क्रममा जिल्लाको मध्यभाग हुँदै रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाका केही भूभाग पार गरिनेछ ।
साताव्यापी यात्राका क्रममा विभिन्न गाउँबस्ती, विद्यालय र सार्वजनिकस्थलमा स्थानीयसँग भेटघाट र कुराकानी गरी आत्मीयता बढाउने योजना रहेको छ । यात्रामा स्थानीय तहका नगरप्रमुख, गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी, साइकल यात्री र पत्रकारहरूको पनि सहभागिता रहनेछ ।
यात्रालाई बहुआयामिक र प्रभावकारी बनाउन हाजिरीजवाफ, निबन्ध लेखन, वक्तृत्वकला र कविता प्रतियोगिता जस्ता अतिरिक्त क्रियाकलापहरू पनि समावेश गरिएको छ । पहिलो दिन उदयपुरगढी ४ स्थित डुम्रेमा बास बस्ने टोली क्रमशः उदयपुरगढी ५ को ढुङ्ग्रे, रौतामाई ८ को पुवाँरे भञ्ज्याङ, रौतामाई ४ को पोखरी, त्रियुगा १४ को निपाने र चौदण्डीगढी ८ को सिम्ले हुँदै अन्तिम दिन चौदण्डीगढी पुग्नेछ । यात्राको समापनमा प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिनेछ ।