
पूर्णपुष्टि, कात्तिक २
सिद्दिचरण लोकमार्ग अन्र्तगत उदयपुरको कटारी–घुर्मी सडकखण्डको भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन् ।
कटारी नगरपालिकाको वडा नं. १४ मा पर्ने भदौरे भिरमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२० च ७१७१ नम्बरको स्कारपियो दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कारपियो राती १२ बजे दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका मध्ये तीन जनाको पहिचान खुलेको छैन । मृतकमध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको छ, बाँकीको सोधीखोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३२ वर्षका पुरुष, ३५ वर्षका पुरुष र अर्की ३५ वर्षकी महिलाको पहिचान हुन सकेको छैन । पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको छ ।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते छन् । उनीहरुलाई कटारी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि बिराटनगर पठाइएको छ । कल्पनाको टाउको र शरिरमा चोट लागेको भने कुमारीको दाहिने खुट्टामा गहिरो चोट लागेको छ ।
प्रहरीले राती ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब नौ सय मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशै मान्नका लागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जव गरी गएको बुझिएको छ ।

