पूर्णपुष्टि, कात्तिक १९ गते ।
उदयपुर-प्रतिनिधि तथा प्रदेश सभाका लागि दोस्रोचरणमा मंसीर २१ हुने निर्बाचनका लागि उदयपुरमा मनोनयन दर्ता गराएका ६२ जना मध्ये १४ जनाले विभिन्न कारण देखाउदै आइतबार मनोनयन फिर्ता गराएका छन् ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार ४ स्वतन्त्रसहित १४ जनाले मनोनयन दर्ता फिर्ता लिएका हुन् । दलको तर्फबाट मनोनयन गरेका ठूला नेताहरुसमेत फिर्तामा परेका छन् । पार्टीकै सिफारिसमा प्रतिनिधिसभा क्षेत्र नं. २ मा मनोनयन दर्ता गराएका नेकपा एमालेका पोलिट ब्यूरो सदस्य जगन्नाथ खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् । उनले स्वइच्छाले फिर्ता लिएको जनाए पनि बाम गठबन्धनबीचको सहमतीय वातावरणलाई असर पुग्न नदिन फिर्ता लिएको पार्टी स्रोतले जनाएको छ । सोही पदका लागि स्वतन्त्रबाट बाघी उम्मेदवारी दिएका नेकपा माओवादी उदयपुर संयोजक विनोद कटुवालले पनि फिर्ता लिएका छन् । खतिवडा र कटुवालले फिर्ता लिएपछि बामगठबन्धनको साझा उम्मेदवार सुरेश राई (हिमाल) बनेका छन् । उनका कडा प्रतिष्पर्धिको रुपमा नेपाली कांग्रेसका नारायणबहादुर कार्की रहेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गतको प्रदेश सभा १ बाट गठबन्धनतर्फको साझा उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएकी नेकपा माओवादी केन्द्रकी जिल्ला सह संयोजक तथा पूर्व सांसद भेषकुमारी राउत (कोपीला)ले पनि मनोनयन फिर्ता गरेकी छिन् । उनले स्वइच्छाले फिर्ता गरेको जनाए पनि पार्टीभित्रकै आन्तरिक समस्याका कारण स्वतन्त्रबाट बाघी उम्मेदवार लगाएका नारायणबहादुर बुर्जा मगरलाई सहयोग गर्नेगरी फिर्ता लिएको स्रोतले जनाएको छ । उनको फिर्तापछि स्वतन्त्रका बुर्जा मगर बाम गठबन्धनका साझा उम्मेदवार तोकिएका छन् । सोही प्रदेशबाट राप्रपाका सुवासराज शाही ठकुरीले पनि मनोनयन फिर्ता गरेका छन् । सोही प्रतिनिधिसभाको प्रदेशसभा २ का राप्रपाका सुरेन्द्रकुमार थापाले पनि मनोमनय दर्ता फिर्ता लिएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेपाली कांग्रेस (विपी) का प्रशान्तकुमार राई र राप्रपा प्रजातान्त्रिकका गोविन्दबहादुर बस्नेतले फिर्ता लिएका छन् । प्रदेशसभा १ (१) मा स्वतन्त्र उम्मेदवार कुशलबाबु बस्नेत, राप्रपा प्रजातान्त्रिकका रामप्रसाद गिरी र राप्रपाका चन्द्रबहादुर विष्टले मनोनयन दर्ता फिर्ता लिएका छन् । त्यस्तै प्रदेश सभा १ (२) मा स्वतन्त्र उम्मेदवारद्वय जीवनकुमार कार्की र मिनबहादुर ज्यू ठकुरी, राप्रपाका श्यामकुमार तामाङ र राप्रपा प्रजातान्त्रिकका बिरेन्द्रकुमार अधिकारीले फिर्ता लिएका छन् । स्वतन्त्रका कार्की र ठकुरी दुबै माओवादी केन्द्रका जिल्ला नेता हुन् ।
अब दुई स्वतन्त्र उम्मेदवारहरु नारायण बुर्जा र हुमबहादुर दाहाल चुनावी मैदानमा नै रहेका छन् । दाहाल बाम गठबन्धनको साझा उम्मेदवार बन्न पुगेका बुर्जाकै बाघीको रुपमा देखिएका छन् ।
निर्बाचन अघिकृतको कार्यालयले मनोनयन दर्ता फिर्ता पछिको २ प्रतिनिधिसभा र ४ प्रदेशसभा सम्पूर्णको गरी आधिकारीक ४८ उम्मेदवारको लिष्ट पनि आइतबार नै सार्बजनिक गरेको छ । उम्मेदवारहरुलाई चुनावचिन्हसमेत प्रदान गरेको छ ।
यसैबीच अधिकतमरुपमा बाघी परेको उदयपुरको बाम गठबन्धनको तर्फ बाघी उम्मेदवार फिर्ता गराउन र आन्तरिक पार्टी विवाद सुल्झाउन सफल भएको भन्दै संयुक्त पत्रकार सम्मेलन गरेर गठबन्धन एकताको सन्देश दिएका छन् । नेकपा एमालेको तर्फबाट पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडा र नेकपा माओवादी केन्द्रको तर्फबाट सुरेस राई (हिमाल) ले पत्रकारसम्मेलनमा चुनावचिन्ह सूर्य र गोलाकारभित्रको हसिया हथौडा अंकित झण्डा आदानप्रदान गरेर एकताको सन्देश दिए । उपस्थित नेताहरुले अब सशक्तरुपले चुनावी मैदानमा उत्रेर बाम एकताको जीत सुनिश्चित गर्ने बताए ।