Wednesday, January 14News That Matters

उदयपुरमा ७ सय किलो बढी गाँजासहित दुई युवक पक्राउ

पूर्णपुष्टि, पुष १२ । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ पौतालिस चोकस्थितबाट ७ सय भन्दाबढी प्रतिबन्धित लागू–औषध गाजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ६ बस्ने अन्दाजी २३ वर्षीय रबिन कुमार राई र बेलका नगरपालिका–९ बस्ने अन्दाजी २८ वर्षीय रामबहादुर राई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार बिहान अन्दाजी साढेँ १ बजेको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टार र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले रामपुरबाट गाईघाट तर्फ आउँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेर गाडीलाई चेकजाँच गर्ने क्रममा ७६३.७६ किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएसँगै बोलेरो सहित चालक रबिन र सोही गाडीमा सवार राम बहादुर लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।