Wednesday, May 20News That Matters

उदयपुर जिल्ला पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

पूर्णपुष्टि, उदयपुर, जेठ ५ । उदयपुर जिल्ला पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । मंगलबार गाईघाटस्थित हिमालयन होटलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले उदयपुर जिल्लालाई दशौँ पटक पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।

जिल्ला खोप समन्वय समिति उदयपुरका सदस्य सचिव राम नरेश ठाकुरका अनुसार जिल्लामा सञ्चालन गरिएको घरधुरी सर्वेक्षणबाट पाँच वर्षमुनिका बालबालिकामध्ये खोप नलगाएका तथा आंशिक खोप लगाएका बालबालिकालाई खोजी गरी पूर्ण खोप उपलब्ध गराइएको हो । सर्वेक्षणका क्रममा दुई जना ‘शून्य डोज’ बालबालिका र १३२ जना आंशिक खोप लगाएका बालबालिका भेटिएकामा उनीहरुलाई आवश्यक खोप प्रदान गरिएपछि जिल्लामा पूर्णखोप प्राप्त दर शतप्रतिशत पुगेको जनाइएको छ ।

यस वर्ष जिल्लाका आठवटै स्थानीय तहमा घरधुरी सर्वेक्षण सञ्चालन गरिएको थियो । सर्वेक्षणअनुसार जिल्लाको कुल जनसंख्या ३ लाख ६८ हजार ७९ रहेको छ भने १५ महिनामुनिका ५ हजार १२७ जना र १६ महिनादेखि ५९ महिनासम्मका १५ हजार ५१ जना बालबालिका पहिचान गरिएको थियो ।

नेपाल सरकारले जारी गरेको राष्ट्रिय निर्देशिका अनुसार खोज र खोप रणनीति अवलम्बन गर्दै जिल्लामा पूर्णखोप सुनिश्चितता कार्यक्रम सञ्चालन गरिएको हो । उदयपुर जिल्ला पहिलो पटक विसं २०७४ माघ १६ गते पूर्णखोप जिल्ला घोषणा भएको थियो । त्यसयता प्रत्येक वर्ष जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्दै प्रमाणीकरण गरिँदै आएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई विभिन्न प्राणघातक रोगविरुद्ध निःशुल्क खोप सेवा प्रदान गरिदैँ आएको जनाईएको छ । जिल्लाभर २५६ वटा खोप केन्द्र तथा सेसनमार्फत नियमित खोप सेवा सञ्चालन भइरहेको जनाइएको छ ।

सदस्य सचिव ठाकुरले आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने सुनिश्चित गर्दै पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम राख्न निरन्तर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रममा खोप कार्यक्रमलाई प्राथमिकतामा राखी कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।