Wednesday, June 17News That Matters

उदयपुर प्रहरीले जेठमा के के गर्याे ? : प्रगती विवरण सार्वजनिक

पूर्णपुष्टि/उदयपुर, असार २ 
जिल्ला प्रहरी कार्यालय उदयपुरले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत जेठ महिनामा सम्पादित विभिन्न सुरक्षा, अपराध अनुसन्धान तथा सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार जेठ महिनामा जिल्लाभर ५० वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये ३३ सामान्य, १३ गम्भीर तथा ४ जघन्य प्रकृतिका रहेका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २० वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १९ महिला र १ ज्येष्ठ नागरिक सम्बन्धी मुद्दा रहेका छन् भने बालबालिकासम्बन्धी मुद्दा दर्ता भएको छैन।
आर्थिक अपराधतर्फ १० वटा मुद्दा दर्ता भएका छन्। जसमा ठगीका ५ र बैंकिङ कसुरका ५ वटा मुद्दा रहेका छन्। ती घटनाबाट करिब ३० लाख ६८ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
चालु मुद्दाका ६४ प्रतिवादीमध्ये ४२ जना पक्राउ परेका छन् भने २२ जना अझै फरार रहेका छन्।
जेठ महिनामा सार्वजनिक यातायात क्षेत्रमा कुनै पनि पेन्डिङ मुद्दाको सफल अनुसन्धान भएको छैन। त्यस्तै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा पनि दर्ता भएको छैन।
फैसला कार्यान्वयनतर्फ फरार रहेका ५ जना अभियुक्त पक्राउ परेका छन्। उनीहरूबाट २ वर्ष ७ महिना १५ दिन कैद सजाय तथा ६४ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाअन्तर्गत घरेलु हिंसाका २० वटा उजुरी दर्ता भएका छन्। उजुरीमध्ये ७ वटा पारिवारिक कलह र १३ वटा मादक पदार्थ सेवनसँग सम्बन्धित रहेका छन्। शारीरिक वा मानसिक यातनासम्बन्धी उजुरी भने दर्ता भएको छैन।
हराएका तथा फेला परेका व्यक्तिहरूको विवरणअनुसार जेठ महिनामा २० महिला, १ पुरुष, १ बालक र १ बालिका गरी २३ जना हराएका छन्। सोही अवधिमा ११ महिला, ७ पुरुष, १ बालक र ८ बालिका गरी २७ जना फेला परेका छन्। यसरी चालु महिनामा हराएका र फेला परेका व्यक्तिको संख्या तुलना गर्दा २२ जनाको व्यवस्थापन सफलतापूर्वक भएको देखिएको छ।
घरेलु हिंसासम्बन्धी उजुरीमध्ये १४ वटा मिलापत्र गरिएको छ भने ६ वटा उजुरीको कामकारबाही प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीय तहगत विश्लेषणअनुसार घरेलु हिंसासम्बन्धी २० उजुरीमध्ये १८ वटा नगरपालिका क्षेत्रबाट र २ वटा गाउँपालिका क्षेत्रबाट प्राप्त भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरले अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ, घरेलु हिंसा न्यूनीकरण तथा पीडितको संरक्षणमा आफ्नो सक्रियता जारी राखेको जनाएको छ।

१९८ उजुरी, १० आत्महत्या र ६ किलो गाँजा बरामद
जिल्ला प्रहरी कार्यालय उदयपुरको मासिक प्रतिवेदनअनुसार गत महिनामा जिल्लामा विभिन्न प्रकृतिका १९८ उजुरी दर्ता भएका छन्। तीमध्ये १९७ उजुरी फर्छ्योट गरिएको छ भने १ उजुरी अझै अनुसन्धानको क्रममा रहेको छ। जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त १६ उजुरीमध्ये १३ फर्छ्योट भई ३ वटा बाँकी रहेका छन्।
प्रहरीको तथ्यांकअनुसार लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ६ किलोग्राम गाँजा बरामद गरिएको छ। यस सम्बन्धमा २ जना पक्राउ परेका छन्। यस्तै ६ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिइएको छ। उक्त कारबाहीका क्रममा १ मोटरसाइकल र १ स्कुटर समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी विभिन्न मनोदैहिक औषधिहरू बरामद गरिएको छ। ट्रामाडोल २०० ट्याब्लेट र स्पास पेन २०० ट्याब्लेटसहित २ जना पक्राउ परेका छन्। साथै डाइजेपाम, फेनार्गन र बुप्रेनोर्फिन गरी जम्मा १५ एम्पुल बरामद गरी १ जनामाथि कारबाही गरिएको छ।
आत्महत्याका घटनातर्फ हेर्दा गत महिनामा उदयपुरमा १० जनाले आत्महत्या गरेका छन्। सबै घटनामा झुण्डिएर आत्महत्या गरिएको विवरणमा उल्लेख छ। आत्महत्या गर्नेमध्ये ७ पुरुष र ३ महिला रहेका छन्। उमेर समूहअनुसार १६–२५ वर्षका १ जना, २६–३५ वर्षका ३ जना, ३६–४५ वर्षका १ जना, ४६–६० वर्षका २ जना र ६० वर्षमाथिका ३ जना रहेका छन्।
प्रहरीका अनुसार गत महिनामा जिल्लामा कुनै पनि प्रमुख आपराधिक घटना दर्ता भएको छैन। अपराध न्यूनीकरणका लागि गस्ती निगरानी, सूचना संकलन, अनुसन्धान तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ।
शान्ति सुरक्षातर्फ प्रहरीले नियमित रूपमा ६३७ पिकेट, ४२२ चेकजाँच, १०३ ग्रामीण गस्ती, ११ एलआरपी, १ हजार ७०५ एसआरपी तथा ५८३ सवारी मोबाइल गस्ती सञ्चालन गरेको छ। यी गतिविधिमा कुल ११ हजार ५४५ प्रहरी परिचालन गरिएको प्रतिवेदनमा उल्लेख छ।
विशेष परिस्थितिमा सञ्चालन गरिएका कार्यक्रममध्ये ३ वटा मेलापर्व तथा जात्रामा सुरक्षा व्यवस्थापनका लागि ६७ जना प्रहरी परिचालन गरिएको थियो। अन्य विभिन्न कार्यमा समेत ११३ जना प्रहरी परिचालन गरिएको जनाइएको छ।
यस्तै राजनीतिक गतिविधिसम्बन्धी १ कार्यक्रममा सुरक्षा व्यवस्थापनका लागि ८२ जना प्रहरी परिचालन गरिएको प्रतिवेदनमा उल्लेख छ।
२८ सवारी दुर्घटना, ५ जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय उदयपुरको मासिक प्रतिवेदनअनुसार गत महिनामा जिल्लामा २८ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। दुर्घटनामा संलग्न सवारी साधनको संख्या ३९ रहेको प्रतिवेदनमा उल्लेख छ। दुर्घटनामा परेका ४७ जनाको उद्धार प्रहरीले गरेको जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण भएका छन्। कुल २८ दुर्घटनामध्ये २४ वटा दुर्घटना चालकको लापरवाहीका कारण भएको देखिएको छ। यस्तै सवारी साधनको अवस्थाका कारण २ वटा, सडकको अवस्थाका कारण १ वटा र चौपायाको कारण १ वटा दुर्घटना भएको उल्लेख गरिएको छ।
ट्राफिक निगरानी तथा चेकजाँच अभियानअन्तर्गत प्रहरीले महिनाभर ३ हजार ३६० वटा सवारी साधन चेकजाँच गरेको छ। चेकजाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ६०४ वटा सवारी साधनमाथि कारबाही गरिएको छ। उक्त कारबाहीबाट ६ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
अवैध हतियार तथा गोलीगठ्ठा बरामदतर्फ भने गत महिनामा कुनै मुद्दा दर्ता नभएको र हतियार, गोलीगठ्ठा वा विस्फोटक पदार्थ बरामद नभएको प्रतिवेदनमा जनाइएको छ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले २ लाख ७० हजार ३०० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। बरामद सामग्रीबाट सोही बराबरको राजस्व असुली भएको प्रहरीले जनाएको छ।
विपद् व्यवस्थापनतर्फ जिल्लामा १ वटा बाढी–पहिरो र ३ वटा आगलागीका घटना भएका छन्। बाढी–पहिरोमा कुनै मानवीय क्षति नभए पनि आगलागीका घटनामा १ जना घाइते भएका छन्। आगलागीबाट करिब २८ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। ती घटनामा उद्धार तथा सुरक्षाका लागि ४५ जना प्रहरी परिचालन गरिएको थियो।
त्यसैगरी प्रहरी परिचालन तथा विभिन्न प्रहरी कारबाहीका क्रममा कुनै मानवीय वा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उदयपुरमा १४ सामुदायिक तथा ७ विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम, ६५० भन्दा बढी प्रत्यक्ष लाभान्वित
जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार जिल्लामा समुदाय तथा विद्यालय केन्द्रित विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी सयौं नागरिक तथा विद्यार्थीलाई लाभान्वित गरेको छ।
प्रहरीका अनुसार समीक्षा अवधिमा समुदाय केन्द्रित १४ वटा कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममार्फत सडक सुरक्षा, ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरण, विपद् व्यवस्थापन, लागूऔषध दुव्र्यसन न्यूनीकरण, जबरजस्ती करणीसम्बन्धी सचेतना, बालविवाह तथा बहुविवाह न्यूनीकरण, पीडित पुनःभेटघाट, बालबालिकाको आधारभूत सुरक्षा तथा लैङ्गिकरघरेलु हिंसा न्यूनीकरणजस्ता विषयमा सचेतना फैलाइएको थियो। उक्त कार्यक्रमबाट ४३८ जना लाभान्वित भएका छन्।
त्यसैगरी विद्यालयस्तरीय ७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ। जबरजस्ती करणीसम्बन्धी सचेतना, लागूऔषध दुव्र्यसन न्यूनीकरण, विपद् तथा पहिरो व्यवस्थापन, सडक सुरक्षा तथा ट्राफिक नियम र बालबालिकाको आधारभूत सुरक्षासम्बन्धी कार्यक्रम विभिन्न विद्यालयमा आयोजना गरिएको थियो। ती कार्यक्रमबाट २९४ जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
प्रहरीको तथ्यांकअनुसार समीक्षा अवधिमा नागरिकता, हतियार नवीकरण तथा अन्य कागजातसम्बन्धी १८३ वटा सिफारिस तथा मुचुल्का तयार गरिएको छ। यसमध्ये १६१ वटा नागरिकता सजिलेमुचुल्का, २२ वटा अन्य कागजातसम्बन्धी रहेका छन्।
त्यसैगरी प्रहरी हटलाइन १००, जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुम तथा अन्य सम्पर्क माध्यममा गरी कुल ५१७ वटा फोन सम्पर्क प्राप्त भएका थिए। प्राप्त कलमध्ये हटलाइन १०० मा २२२, सोधपुछका लागि १७९ तथा कन्ट्रोल रुममा ११६ वटा कल आएको विवरणमा उल्लेख छ।
प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ प्रहरीले एक जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। अवैध मदिरा नियन्त्रण, अवैध वन पैदावार तथा वन्यजन्तु चोरी–पैठारी नियन्त्रणतर्फ भने समीक्षा अवधिमा कुनै उपलब्धि तथा मुद्दा दर्ता नभएको उल्लेख गरिएको छ।
विपद् व्यवस्थापनतर्फ जिल्लामा चट्याङ, हावाहुरी तथा जंगली जनावरको आक्रमणलगायत घटनाबाट १४ जना प्रभावित भएका छन्। ती घटनामा करिब ३३ लाख ९१ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको विवरणमा जनाइएको छ।
यसै अवधिमा जिल्लामा दर्ता भएका सेवाग्राहीको संख्या १८३ रहेको छ। प्रहरी कर्मचारीको मनोबल अभिवृद्धिका लागि “Tea With Tea” कार्यक्रमसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार समुदायसँगको सहकार्य, विद्यालयस्तरीय सचेतना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।